उषा हमाल
हामी धेरै ठूलाठूला कुरा गर्न जान्ने भएका छौं । सानामसिना कुरातिर र्फकन जान्दैनौं र परिणामस्वरुप यसको सिकार निर्दोष बालबालिका हुन्छन् । -
'मस्कुल जान्नँ, बरु बिहे गर्छु', यो भनाइ कुनै काल्पनिक कथाबाट टिपिएको होइन । यो भनाइ ती तेह्र लागेकी केटी सपनाको हो, जसलाई स्कुल जानु भनेको कुनै यातनागृहमा जाकिनुसरह हुन्छ । विवाह के हो भन्ने नै नबुझेकी यी बालिकालाई स्कुलको विकल्प बरु बिहे बनेको छ । तिमी किन स्कुल नगएकी नानी भनेर कसैले सोध्यो भने उनी आँखाभरि आँसु पार्छिन् र स्कुल जानु सट्टा बिहे गर्छु भन्छिन् ।
'सुन्नेलाई रमाइलो तर भोग्नेलाई पीडादायी यो अभिव्यक्तिका पछाडि लुकेका तमाम प्रश्नबारे हामी शिक्षा विकासमा लागि भिडेका जोकोहीले पनि छातीमा हात राखेर सोच्नुपर्ने अवस्था देख्छु, गैरसरकारी संस्थामा कार्यरत शिक्षा क्षेत्रमा काम गर्ने विकास शर्माले पंक्तिकारसँग भने । उनी धादिङ जिल्लाको एउटा दुर्गम गाउँमा केही स्कुलहरूको स्थलगत अवलोकन गरेर फर्किएका थिए ।
स्कुल यातनागृह र घर श्रमशिविर सरह भोगिरहेकी यी बालिकाका लागि पढाइमा रुचि र शैक्षिक उपलब्धि धेरै परका कुरा हुन् । मुस्किलले हप्तामा एक दिन उनी स्कुल टेक्न पाउँछिन् । घरमा आफूमुनिका तीन जना साना भाइबहिनीको रेखदेख गर्नुपर्छ सपनाले । आमाबाबु ज्यालामजदुरीमा दिनहुँ खटिन्छन् । यसरी नखटिँदा घरमा चुलो बल्दैन । फाटफुट स्कुल आएको दिन पढाइ भइरहेका पाठहरूको छेउपुच्छर बुझिँदैन । शिक्षकहरूको हप्कीदप्की र साथीहरूको हस्सीमजाकका बीचमा पिल्सिँदै स्कुल समय बित्छ ।
शिक्षा मन्त्रालयले अवलम्बन गरेको उदार कक्षोन्नति नीतिको बलमा स्कुलमा उनलाई परीक्षामा उत्तीर्ण गर्दै लगियो र उनी कक्षा चारसम्म धकेलिइन् । यतिन्जेलसम्म मुस्किलैले उनले आफ्नो सामान्य विवरण लेख्न सक्छिन् तर कक्षा चारसम्म पुग्दा पनि उनमा कुनै शैक्षिक उपलब्धि नदेखेपछि शिक्षकहरूले विगत तीन वर्षदेखि कक्षा दोहोर्याउन लगाइरहेका छन् र उनी अहिले पनि कक्षा चारमा नै छिन् । यसबाट उनलाई पीडामाथि पीडा थपिएको छ । सँगै पढ्ने साथीहरू ससाना छन् । उनी भने ठूली । सबैले जिस्क्याउँछन् । शिक्षकहरू हाकाहाकी अपमानको भाषा बोल्छन् ।
त्यसो त उनको नाम वरपरका छिमेकी दुई चारवटा स्कुलका भर्ना रजिस्टरमा पनि दर्ता गरिएको छ । ती स्कुलहरूमा उनलाई शिक्षा मन्त्रालयबाट आएको छात्रवृत्ति बाँड्ने दिनमा मात्र गए पुग्छ । अरू दिन उनको हाजिरी त्यसै पनि त्यहाँ लेखिएको हुन्छ । छात्रवृत्ति रकम बुझेको दिन उनका घरमा थप पीडा आइलागेको हुन्छ । यो अतिरिक्त आम्दानी भएको रकमबाट उनका बाबु दिउँसै 'माइकल स्वाँठ' लगाएर घरमा आउँछन् र आमा र उनलाई समेत भकुर्छन् । यो स्थितिको सामना उनले छात्रवृत्ति बुझेको पटकैपिच्छे गर्नुपर्ने हुन्छ ।
उनको स्कुल भर्नाले कुनकुन निकायलाई कसरी उपलब्धि हासिल भएको छ । यो पनि सोचनीय विषय हो । शिक्षा विभागको तत्थ्यांकमा उनको स्कुल भर्नाबाट उच्च विद्यार्थी भर्नादर देखाउन मद्दत पुगेको होला । स्कुललाई प्रतिविद्यार्थी लागत रकम माग गर्न मद्दत पुगेको होला । उनका बाबुलाई छात्रवृत्ति रकमबाट रक्सी पिउन मद्दत पुगेको होला तर उनका लागि खुद उनकै स्कुल भर्नाले के मद्दत पुग्यो ? यो प्रश्नको जवाफ कसरी र कहाँबाट आउन सक्छ ? यसबारे हामी शिक्षा विकासका जिम्मेवारहरूले नै सोच्नुपर्ने होइन र ?
केटाकेटीहरूको सिकाइमा स्कुलको रुचिपूर्ण वातावरणले आवश्यक मद्दत पुर्याउँछ । अधिकांश स्कुलहरूको भौतिक र शैक्षिक वातावरणमा बालबालिकाहरूको सिकाइ मानोविज्ञनमा सकारात्मक असर पार्ने सूचकहरूको एकछेउ पनि भेटिँदैन । हालसालै शिक्षा विभागबाट गरिएको एक सर्वेक्षणमा स्कुलमा बालबालिकामाथि गरिएको प्रतिकूल व्यवहारबाट उनीहरूको शैक्षिक उपलब्धिमा सत्र प्रतिशतले गिरावट आउने तथ्य प्रस्तुत गरिएको छ । यस्ता अतिरिक्त समस्या भएका सपनाजस्ता बालबालिकाका लागि अतिरिक्त प्रोत्साहन गर्ने र उनीहरूका हाउस होल्डसम्म पुगेर घरायसी र व्यक्तिगत समस्यामा छलफल गर्ने इच्छाशक्ति भएका शिक्षकहरू औंलामा गन्नुपर्ने हुन्छ ।
शिक्षा विभागबाट वितरण भइरहेको प्रतिविद्यार्थी लागत रकम र छात्रवृत्ति रकमको दुरुपयोग नियन्त्रणको मेकानिजम प्रभावकारी छैन । यसको प्रतिफल सकारात्मकभन्दा नकारात्मक रूपले बढ्दै गइरहेको छ । यसले विद्यार्थी भर्नादरको तथ्यांकलाई पूर्ण रूपले मिथ्यांकमा परिणत गरिदिएको छ । अर्कोतर्फ सामाजिक विकृतिसमेत बढाउन मद्दत पुर्याइरहेको छ । अहिले तमाम झोले स्कुलहरू अख्तियारको पन्जामा परिरहेका समाचार मिडियामा आइरहेका छन् । स्कुलहरू यसरी झोले बन्नुमा हाम्रा सरकारी नीति र कार्यक्रमहरू पनि जिम्मेवार छन् जसले झोले स्कुलहरू उत्पादन गर्न मद्दत पुर्याउँछन् र परिणाम भोग्नुपर्छ सपनाजस्तै बालबालिकाहरूले ।
यसरी स्कुलले समेट्न नसकेका परिवारले पढाउन नसकेका बालबालिकका र प्रौढहरूको शिक्षाका लागि प्रतिबद्ध शिक्षा मन्त्रालयको एउटा निकाय अनौपचारिक शिक्षा केन्द्र हो । यस केन्द्रको अगुवाइमा साक्षरता दरमा शतप्रतिशतले वृद्धि गर्न औपचारिक शिक्षाबाट वञ्चित ठूलो समूहका लागि पढाउने व्यवस्था गर्ने दायित्व लिइरहेको छ र सन् २०१५ सम्म साक्षर नेपाल घोषणा गर्ने अभियानमा यो केन्द्र भिडेको छ तर यस महान् अभियानको दौडादौडमा कुदिरहेको यस केन्द्रलाई उनीहरूजस्ता पीडित बालबालिकाहरूको शिक्षाबारे सोच्ने फुर्सद कति होला खै ?
बालबालिकाहरूको शिक्षाका क्षेत्रमा काम गर्ने गैरसरकारी संघसंस्थाहरूको नेपालमा कमी छैन र यी संस्थाहरूले कहाँ र कसरी काम गरिरहेका छन् भन्ने कुराको एकिन तथ्यांक छैन । परिणामस्वरूप कार्यक्रम र कार्यस्थल सबैतिर डुप्लिकेसनको स्थिति छ । कुनै गतिलो अनुगमन प्रणाली नहुँदा यी संघसंस्थाहरू पनि ठूलो संख्यामा झोले नै छन् । बालबालिकाहरूका लागि कार्यरत सक्रिय गैरसरकारी संघसंस्थाहरूको मुख्य एजेन्डामा बालअधिकार परेको हुन्छ तर त्यो बालअधिकार अन्तर्राष्ट्रिय महासन्धिमा उल्लिखित पश्चिमा परिवेशको बालअधिकारको कुरा हुन्छ । यसबाट हाम्रा सामाजिक, आर्थिक र शैक्षिक समस्याहरूको निराकरणमा मद्दत पुग्नुको साटो हाम्रो मनस्थितिमा भाँडभैलो मच्चाउन मात्र सहयोग पुगिरहेको हुन्छ ।
यी तमाम समस्याहरूले बालबालिकाहरूको शैक्षिक उपलब्धिमा सूक्ष्म रूपले प्रतिकूल असर पुर्याइरहेका छन् । यसतर्फ न त शिक्षाविद्, न त शिक्षक, न त नीतिनिर्माता, न त अभिभावक कसैको दृष्टि पुगेको छ । हामी धेरै ठूलाठूला कुरा गर्न जान्ने भएका छौं । सानामसिना कुरातिर र्फकन जान्दैनौं र परिणामस्वरूप यसको सिकार सपनाजस्ता निर्दोष बालबालिका हुन्छन् । तर हामी उनीहरूको पढाइका सतही कुरालाई विषय बनाएर तारे होटेलहरूमा गोष्ठी, कार्यशाला, बैठक सम्पन्न गर्छौं र योजना तर्जुमा गर्छौं । तर उनीहरूले पढ्न नसकेका कारणका गहिराइसम्म पुग्न सक्दैनांै र सपनाजस्ता केटीहरूले भन्नुपर्ने हुन्छ, म स्कुल जान्नँ, बरु बिहे गर्छु ।
No comments:
Post a Comment