Setopati-Monday, March 03 , 2014 | सोमवार, फाल्गुण १९, २०७० |
साँझ ६ बजे उनको लास्ट टिप सकियो। बिहान ७ बजेदेखि दिनभरि हेवी साझा गाडी चलाएकी रेविका थापा लगनखेल स्टपमा एकदमै फुर्तिली भेटिइन्।
फोटोको लागि सुट गर्नै पनि तयार थिइन्। किन नहुन् त? उनी दिनभरिको धुलोबाटोमा गाडी चलाएजस्ती देखिएकै थिइनन्। फुर्तिली, सफा अनि सुन्दर। फोटो सुटका लागि पनि एकदमै फिट थिइन्।
त्यसैबेला साझाका स्टाफ कृष्णप्रसाद रोकाया आइपुगे। 'ओहो तपाईँलाई त मान्न पर्छ, यो गाडी चलाउन सानो हिम्मत चाहिँदैन।'
रेविकाको भने आफ्नै तर्क छ।
'केटीमान्छे कमजोर छु भनेर बसेर मात्रै हो जस्तो लाग्छ मलाई।'
प्रश्नको जवाफ उनीसँग तयार थियो, 'त्यसो त कमजोर केटा मान्छेले पनि यो गाडी हाँक्न सक्दैनन्।'
हेवी गाडी चलाउन अलि आँट, केही बल र तरिका चाहिन्छ, केटा होस या केटी केही फरक पर्दैन। उनलाई लागेको के हो भने केटीमान्छेहरु यस्तो ठानेर डराउँछन् कि केटाजस्तो बलियो हुनपर्छ गाडी चलाउन। उनको अनुभवले त्यसलाई नकार्छ।
'केटाले चलाउँदा नि आकाशबाट उडाउने त होइन नि,' उनले अझ प्रष्ट पार्न खोजिन्, 'त्यो हाइस गाडीको ढोका मैले लगाउनै सक्दिन तर फुच्चे कन्डक्टर भाइले सजिलै सक्छ, त्यो म कमजोर भएर हो त? होइन, मैले त्यो ढोका लगाउने तरिका नजानेर हो।'
सहरमा उनले दशवर्ष भयो कहिले टेप्पो कहिले गाडीहरु चलाउन थालेको। साझाबस फेरि चल्न थालेपछि उनलाई यो चलाउन मन थियो। एक दिन उनले साझा पेट्रोल पम्पमा अर्कै गाडी लिएर पुगेकी थिइन्। साझाको अफिस छिरिन। त्यहाँको सिनियर कर्मचारीले साझा चलाएर हेर्न भने उनले चलाइन्, मोडमा सजिलै मोड्न सकिन।
'त्यसपछि उहाँहरुले मलाई यही आउन भन्नुभयो, त्यो दिन मैले चलाउन नसकेको भए म महिला ड्राइभर भएर मात्रै उहाँले किन मलाई बोलाउनु हुन्थ्यो होला र?'
सानैदेखि समस्यासँग भिडेर जित्दै आएकी रेविका महिला भएकै कारणले साझामा ड्राइभरको जागिर पाएकै होइन भन्छिन्।
उनलाई साझाका महेन्द्र पाण्डेले भनेका थिए, 'तपाईलाई राम्रो चलाउन सक्ने भएरमात्रै यहाँ बोलाएको हो।'
उनलाई पुरुष र महिला भनेर छुट्टाएर व्यवहार गरेको मन पर्दो रैनछ। 'मैले आफूले काम गरेर खाने हो मागेर होइन, जिन्दगी धान्न म आफै सक्षम छु भने मलाई मान्छेले किन 'विचरी महिला' भनेर सहानुभुति दिने?'
बसमा महिलाको लागि, आरक्षरण सिट चाहिन्छ जस्तो त उनलाई लाग्दो रहेनछ।
'तिमी जिन्दगी र समाजसँग जुध र आफ्नो अधिकार आफै उपयोग गर, आरक्षणमा सिट खोज्दै हिड्ने हो भने थप कमजोर हुने छौ।' यो उनको केटीमान्छेहरुलाई सुझाव।
कति केटीमान्छे त कानुनले दिएको आरक्षण सिट दाबी गर्न पनि बोल्ने आँट राख्दैनन् नि?
त्यो त हो कैलेसम्म चुप लागेर होला र? उनले नै प्रश्न गरिन र फेरि सुझाइन – बोल्नै पर्छ र आँट गर्नै पर्छ।
उनले धेरै पढेकी छैनन्। स्कुल त उनी तीन चार क्लाससम्म पढिन होला। त्यसपछि आमा वितिन। अर्की आमाका दाजुदिदिहरुको हेलामा बाँच्नुपर्यो। दाजुहरुले वास्ता गर्दैनथे। बाबाले पनि गर्दैनथे। दिदिहरुको घरमा काम गर्थिन। बिहानभरि काम गरेर आफू भन्दा केहीमात्रै साना भतिजहरुलाई स्कुल पुराउन जानुपर्थ्यो। उनलाई स्कुलको गेटबाट आफू पनि भित्र जान मन लाग्थ्यो। अमिलो मन लिएर फर्किन्थिन्।
तर, हेला उनलाई मन्जुर भएन।
भागेर बुटवल गइन। त्यहाँ ढुङगा बोकेर आफैलाई पालिन।
त्यसको केही समयपछि उनी आफ्नो जन्मस्थान नवलपरासीको खैरेनी फर्किइन र चर्चमा बस्न थालिन्। चर्चमा दिदिहरु लिन आउन थाले। उनले मानिनन्। एकदिन बाबा आएपछि उनी घर गइन्। बाको सम्पत्ति टन्नै थियो दाजु र दिदिहरुले कति त लिइसकेछन्। बाँकी बाको खेत र गोठ थियो।
रेविका त्यही गएर काम गर्न थालिन्। तैपनि पसल चलाउन भन्दै दिदी भिनाजु लिन आउँथे उनलाई उनीहरुकोमा काम गर्न जान मन लाग्दैनथ्यो। बरु बाबाको खेतमा काम गर्न उनी खुसी हुन्थिन्। १५ वर्षकी थिइन होला रेविका एकदिन परालको दाइ राख्दै थिइन्। दिदी आएर सबै कपडा लिएर गइन्, 'तँ नमानेपछि मैले किनिदिएका कपडा मै लान्छु त यहीँ बस।'
दाईँमा गोरु घुमाउदै थिइन, उनका आँखामा आसु थामिएन।
आफूले भोगेको दुख सम्झेर रेविका साझा बसको सिटमै रोइन्।
हत पति आँखा पुछेर उनले भनिन् 'यस्ता दुःख धेरै सम्झन हुदैन बहिनी। अब उनीहरुले मलाई बोलाए भने 'म राम्ररी बोल्छु।' मलाई ती दिन सम्झेर उनीहरुलाई सराप्न मन लाग्दैन'
उनले मलाई सम्झाउन खोजेको 'त्यही दुःखले मलाई यति धेरै आँटिली बनायो।'
चर्चकै काममा काठमाडौँ आइन उनी। अब काठमाडौँ खैरेनी आउजाउ बढ्दै गयो।
उनको विहे पनि भयो। उनी काठमाडौ बस्न थालिन।
सामाजसेवामा उनलाई रुची थियो।
छोरा जन्मेपछि उनका श्रीमानसँग कुरा मिल्नै छोड्यो। छोरालाई उनले आफै पाल्न थालिन्।
६० सालको अन्तिम तिर रेविकाले गाडी सिक्न थालिन। ६१ सालमा लाइसेन्स लिइन – टेम्पो र बस।
आफू र बच्चालाई पाल्न उनलाई इलम चाहिएको थियो। उनले टेम्पो चलाउन थालिन्। त्यहि टेम्पोबाटै उनले आफ्नो 'ड्राइभर जीन्दगी'को यात्रा थालेकी थिइन्।
टेम्पो चलाएर महिनाको १५ /१६ हजार कमाउँथिन। आफ्नो र छोराको लागी गुजारा चल्थ्यो।
उनलाई त्यहीँबाट सिकिन ड्राइभिङमा मज्जा लिन।'बिहान घरबाट जति सुकै निराश भएर निस्के पनि जब गाडी चलाउन थालिन्छ सारा दुःख भुलिन्छ। मान्छेहरु आउँछन बोल्छन उनीहरुका कुराले समेत मुड राम्रो बनाउँछ।'
'ड्राइभिङ गरेको यत्रो वर्ष भयो मैले कहिलै अस्लील बोलेको छैन।' उनले भनिन् 'समाजमा ड्राइभरहरुको नराम्रो छवि छ कतिपय कुरा त ड्राइभरहरुले नै बिगारेको हो नी,नराम्रा शब्द नबोले पनि हुन्छ, रक्सी खाएर गाडी नचलाएपनि हुन्छ, केटीसँग नजिस्कीएपनि हुन्छ। खै मलाई पुगेकै छ त्यसो नगरेर पनि।'
ड्राइभर साथीहरु भन्थे दिनभर गाडी चलाएपछि त थकाइ मेट्न थोरै रक्सी खानुपर्छ।
उनको उत्तर 'काम गरेपछि थकाइ लाग्छ अनि रक्सी नखाएपछि राम्रो निद्रा लाग्छ त्यसैले थकाइमेट्छ।'
'कति ड्राइभरहरु केटी जिस्काउँछन नी तर मैले अझसम्म केटा जिस्काको छैन है, म पनि ड्राइभर नै हुँ।' हासो गरिन्।
त्यसो त यहाँ अनेक थरिका मान्छे हुन्छन्। कतिपय पेसेन्जरहरुसमेत तमिज मन पर्दैन उनलाई।
उनी सानेपा– बागडोल –रत्नपार्क रुटको टेम्पो चलाउथिँन्। एकदिन एउटा मान्छे झम्सीखेलबाट ड्राइभर सिट छेउको सिटमा बस्न आइपुग्यो।
सिटमा बसेपछि उ त घरको सोफामा बसेको तालले बस्छ र उनको काँधमा हात ल्याउँछ। उनले के गरेको हात तल झार्नुस भनिछन्। एकछिन पछि त्यो मान्छेको ताल फेरि उस्तै उनैको काँधमाथि हात राख्छ। ज्ञानोदय स्कुल छेउ आइपुगेपछि उनले टेम्पो रोकिन्। 'तपाईँ झरिहाल्नुस।'
'मलाई टेम्पोका अरु पेसेन्जरले पनि साथ दिए। त्यो मान्छे त उल्टै तेरो मात्रै हो टेम्पो अरु पनि छन् भनेर कड्कीदै झर्यो।'
त्यसपछि उनले कैयौँपटक त्यो मान्छेलाई देखिन तर पछिको सिटमा समेत उक्लीन दिइनन्।
'केटी ड्राइभर भनेर हेपेको हो उसले।' उनले भनिन्।
उनी लडाकु टाइपकी पनि रहिछिन्। पुलिसले घुस माग्दा नदिएर उनको एक महिना सम्म लाइसेन्स गुम्यो।
'म किन फोकटमा घुस दिनु मैले नियम पालना गर्दा गर्दै पनि घुस माग्नेले मेरो लाइसेन्स लैजाओस तर एकरुपैँया दिन्न।' उनी दृढ देखिइन्।
टेम्पो चलाउन छोडेपछि उनले टुरिष्ट बोक्ने गाडी चलाउन थालिन्। काठमाडौँ –पोखरा रुटमा।
होटलको गाडी थियो त्यो। पोखरा पुगेर खै त सुत्ने ठाँउ भन्दा होटलको मान्छे ट्वाँ पर्यो।
'ड्राइभर त गाडी मै पो सुत्ने रैछन त्यत्रो भब्य होटल छ ड्राइभर रुम राखेकै छैन कति हेपेको होला है? केटा ड्राइभरलाई पनि त रुम चाहिन्छ नी होइन।' उनका आँखा चम्कीए 'मैले कुरा राखेपछि त्यहाँ अरु ड्राइभरहरुलाई पनि कोठाको व्यवस्था भयो।'
आफूलाई मात्र होइन आफ्नो पेशालाई पनि सम्मान गर्नुपर्ने ठान्छिन उनी। आफ्नो पेशालाई राम्रो बनाउन काम गर्नेले नै पहिलो कदम उठाउनुपर्छ।
ट्राभलको हाइस गाडी चलाउन छोडेपछि उनले मन्त्रालयमा जागिर पाइन एक वर्ष। त्यहीँ काम गर्दा गर्दै उनलाई हेवी गाडी चलाउन रहर थियो। लाइसेन्स लिन भनेर गइन्। त्यहाँको प्रहरी कर्मचारिले सोध्यो के को लागि?
'हेवीको लागि'
उ त ओठ लेप्राएर भोलि आउनुस भन्दै गयो।
अर्को दिन उनी हिल जुत्ता लगाएर गइन्। त्यहाँ मान्छेले ठूला आँखा पार्दै हेरे। जब ट्रायल दिने बेला आयो रेविकाले झोलाबाट स्पोर्ट जुत्ता निकालिन्। आफूलाई व्यवस्थित गर्न उनलाई सधैँ जाँगर चल्छ।
एकैपटकमा उनले हेवी गाडीको लाइसेन्स पाइन्। ओठ लेप्राउने प्रहरीले हास्दै प्रसंशा गर्न थाल्यो।
हेवीको लाइसेन्स लिएपछि साझा चलाउने उनको इच्छा थियो रे। जुन इच्छा पुरा भएको छ।
साझामा काम गर्ने भनेपछि समाचारमा उनको नाम छापियो। मिडियाले खोज्न थाले।
'हेर्नुस म सानै देखि श्रम गरेर खानुपर्छ भन्ने केटी मान्छे हो मैले यसरी नाम पनि कमाउँला भन्ने सोचेकै थिइन' उनी दंग छिन्। जब साझामा उनले काम पाइन, र समाचारमा उनको नाम आयो, सानैमा हेला गर्ने दाजुले फोन गरे र प्रसंसा गरे तब रेविका आफ्नो स्टाइलमा एकदम खुसी भइन्।
तस्वीरहरु प्रकाश लामा/सेतोपाटी
No comments:
Post a Comment