Wednesday, March 26, 2014

हराएको ७७७ र बदलिँदो विश्व

फेरिन लागेको विश्व शक्ति सन्तुलनलाई बुझेर आफ्नो व्यवहारलाई समायोजन गर्न नेपालले अबेर गर्नु हुँदैन ।

ramesh
नाटककार बालकृष्ण समले लेख्नुभएको विचारोत्प्रेरक हरफको सम्झना भइरहेको छ- ज्ञान मर्दछ हाँसेर, रोइ विज्ञान मर्दछ । आठवटा ठूला वायुसेवा कम्पनीहरूको परामर्शमा पूर्णतया कम्प्युटरद्वारा डिजाइन गरिएको पहिलो व्यापारिक विमान बोइङ ७७७ उत्कृष्ट विज्ञानमा आधारित इन्जिनियरिङको अनुपम नमुना थियो । तर २३९ यात्रुहरू लिएर उडेको मलेसियन वायुसेवाको यो अत्याधुनिक विमान आकासमै छु-मन्तर भएको तीन साता भइसकेको छ । विश्वका साना-ठूला २६ देशहरू आफ्नो प्राविधिक सीप र सामथ्र्यसँगै विमान, पानीजहाज र भूउपग्रह उपयोग गरेर पश्चिम एसियादेखि पूर्वी युरोपका पाँच देशहरूमा जोडिएको क्यास्पियन समुद्रदेखि हिन्द महासागरसम्म खोजिरहेका छन् । तर परिणाम शून्य छ । के यत्रो ठूलो विमान आकासमै अन्तध्र्यान भयो ?
वालस्टि्रट जर्नलका अनुसार, यो घटना भविष्यमा आतंककारी आक्रमण गर्ने क्षमताको परीक्षण गर्दै राडार र उपग्रहलाई छकाउँदै ७७७ विमानलाई तोकिएको ठाउँमा लग्ने सामथ्र्यको अभ्यास भएको उच्च अमेरिकी अधिकारीहरू विश्वास गर्छन् । यो विश्वास अथवा अनुमान, विश्लेषण र मूल्याङ्कनको निष्कर्ष तर्साउने खालको छ । यसरी एक्कासी सुरु भएको समयको ऐँठन खप्न नसकेर विज्ञान र प्राविधिक विकासको अहंकार स्वयम् अत्तालिएको छ । ज्ञान भ्रमित भएको छ । अचानक अन्तध्र्यान भएको बोइङ ७७७ ले विमानको सुरक्षा र दक्षतालाई उच्चकोटीको प्रविधिसँग समायोजन गरिएको दाबी खोक्रो तथा भूउपग्रह र राडारको पहुँच र अचुक क्षमताको विश्वासलाई आत्मरति सिद्ध गरेको छ ।
सुइँको नै नदिएर कुनै पनि विमानले आफ्नो वायुसीमा उल्लंघन गर्न सक्दैन भन्ने सम्बन्धित देशका सेनाहरूको दाबी, स्वचालित सञ्चारयन्त्र बन्द गरे पनि उपग्रह र राडारहरूले खबर पाउँछन् भन्ने दृढतापूर्ण दाबी स्वयम् अविश्वासिलो सावित भएको छ । मलेसियाको वायुसीमा बाहिर जाने बित्तिकै गायव भएको ७७७ ले अपरिचित विमानले उपग्रहलाई पनि छल्न सक्ने अथवा आफ्नो वायुसीमा उल्लंघन गर्दा शक्तिशाली सैनिक र गैरसैनिक राडारहरू तैनाथ गरिएका देशहरू उँघेर बसेको सावित गरेको छ । के ज्ञानको पूर्णता भ्रममात्र हो ? प्राविधिक चमत्कार तथा विज्ञानको अभूतपूर्व नमुनाको दाबी मानवीय कमजोरीमात्र हो ? यी प्रश्नहरूले विज्ञान र प्रविधिलाई नै ब्याकुल पारेको छ । भ्रम र कमजोरी एउटै भङ्गालो भएर एक्कासी आएपछि शङ्काको घेरामा परेको विमानचालक अर्थात व्यक्तिको आपराधिक दिमागसमक्ष अति विकसित प्रविधि स्वयम् निरीह भएको छ । ज्ञान, विज्ञान र प्रविधिको समायोजनले, बोइङ कम्पनीको शब्दमा 'इतिहासमा नै यस्तो सुरक्षित विमान पहिलोपटक बनेको थियो ।' तर नियतिको खेलले वा ज्ञानलाई आपराधिक मनसुवाबाट प्रयोग गर्ने व्यक्तिको दिमागले यो दाबीलाई खिसी गरिरहेको छ ।
सन् १९५७ मा तत्कालीन सोभियत संघले अन्तरिक्षमा पहिलो उपग्रह पठाएको थियो । अहिले अन्तरिक्षमा ६,५७८ भन्दा बढी मानवनिर्मित उपग्रहहरू घुमिरहेका र यिनले नियमित रूपमा सूचना पठाइरहेको जानकारी राष्ट्रिय अन्तरिक्ष विज्ञान डाटा केन्द्र अमेरिकाले दिएको छ । यिनीहरूमध्ये कसैले पनि बोइङ ७७७ बारे जानकारी पाउन नसक्नु, विमानको बाटोमा पर्ने देशहरूका सैनिक र गैरसैनिक राडारहरूले अपरिचित विमान आफ्नो वायुसीमाबाट यात्रा गर्दा पनि सुइँको नपाउनु अति विकसित भनिएको सुरक्षा व्यवस्थासामु गम्भीर चुनौती हो । यसले विश्व सञ्चार साधन, उपग्रह, जहाज र विमानको मार्गनिर्देशक यन्त्र र वैज्ञानिक अन्वेषणको प्रभावशालितामै प्रश्न खडा गरेको छ । यसका साथै पृथ्वीबाट मङ्गलग्रहमा मानव बस्ती विस्तार गर्ने महत्त्वाकांक्षी योजनाको निपुणतामा पनि प्रश्न उठेको छ । 'मार्स वन' वेबसाइटले दिएको जानकारीअनुसार सन् २०२३ सम्ममा मङ्गलग्रहमा मानव बस्ती बसाल्ने योजना अन्तर्गत मङ्गलग्रहको एकतर्फी यात्रामा सम्मिलित हुन आवेदन दिएका बिभिन्न देशका एक लाख व्यक्तिहरूमध्ये छानिएकालाई आठ वर्षको तालिम दिन थालिएको केही महिना भइसकेको छ । तर कौतुहल र उत्तेजनाले भरिएको यो महत्त्वाकांक्षी योजनाको ल्याकतमा पनि बेपत्ता भएको बोइङ ७७७ ले प्रश्न खडा गरेको छ ।
विज्ञान र प्रविधि विकासको अवस्था र परिधिलाई हीनताबोध गर्न बाध्य तुल्याएको यो पृष्ठभूमिमा नोबेल पुस्कार विजेता लेन केलडिकट र बाह्य अन्तरिक्ष सन्धि १९६७ तयार गर्ने मध्येका क्रेग आइजनड्रथले लेखेको 'वार इन हेभेन' पुस्तकलेे सम्पूर्ण मानवजातिका लागि भयावह भविष्यको चेतावनी दिएको छ । किताबमा लेखिएको छ, '२१ औँ शताब्दीको प्रारम्भिक चरणमा नै अन्तरिक्ष शक्ति सशस्त्र संघर्षको पृथक र समान माध्यम बन्न सक्छ । तर उदीयमान शक्तिहरूबीच जमिन, जल र हवाइसँगै अन्तरिक्षमा पनि श्रेष्ठता हासिल गर्ने प्रतिस्पर्धाले आधारभूत असङ्गति र त्यसको परिणाममा विश्व परिस्थिति विलकुलै फरक हुनेछ ।' यो किताबमा दुई विज्ञहरूले भविष्यको क्यानभासमा बाह्य अन्तरिक्षमा घातक हतियारहरू भण्डारणका लागि शक्तिशाली देशहरूबीच हुने प्रतिस्पर्धाले सुरु गर्ने द्वन्द्वले विश्वलाई त्रासयुक्त भिरालोको मुखमा पार्ने दृश्य कोरेका छन् । भविष्यको यो धारिलो र संक्षिप्त विश्लेषण पढेर दिमागमा भूकम्प महसुस गर्ने बाहेक हामीसित अर्को विकल्प छैन । तर दोस्रो विश्वयुद्ध र शीतयुद्धको अन्त्यपछि विश्व सुरक्षित बनेको, विज्ञान र प्रविधिको विकास त्रुटिहीन भएको विश्वास भ्रममात्र थियो भन्ने तीतो सत्य सावित भएको छ ।
भ्रम चिर्ने क्रम ज्ञान र विज्ञानमा मात्रै सीमित रहेन । एक सय वर्षअघि पहिलो विश्वयुद्ध सुरु भएदेखि मानवजातिले दोस्रो विश्वयुद्ध र थुप्रै स्थानीय युद्धहरू भोगेकै हो । विनाशको लामो शृङखलापछि होश आएको विश्वले ६९ वर्षदेखि भोग गर्दै आएको स्थायित्व र सुरक्षा सामरिक भूस्थापन भएको सानो देशको लागि हैनरहेछ भन्ने अनुभूति गराउने घटना युरोपमा भएको छ । परराष्ट्र नीतिको चासो आफ्नो देशको आन्तरिक आवादीको बनोट र पृष्ठभूमिसँग हुँदैन भन्ने प्रचलित धारणा युक्रेनको घटनाक्रममा घाइते भएको छ । भौगोलिक अवस्था र भूराजनीतिक महत्त्वको हेक्का नराखेर सत्ताको लुछाचुँडीमा लागेका, आपसी मनोमालिन्यलाई सुल्झाउन विदेशीलाई गुहार्ने नेताहरूले युक्रेनलाई रूस र पश्चिमी शक्तिहरूबीच भिडन्तको कुरुक्षेत्र बनाएका छन् । परिणाममा सन् १९८९ मा बर्लिनको पर्खाल भत्काइएपछि अन्त्य भएको शीतयुद्ध फेरि सुरु भएको छ । विश्व व्यवस्था एक्कासी तनाव र अनिश्चिततामा फँसेको छ । २५ वर्षपछि पहिलोपटक युरोपको शान्ति र स्थायित्वमा आशङ्का बनेको छ । शक्तिराष्ट्रहरूको सम्बन्ध प्रत्यक्ष द्वन्द्वको चरणमा प्रवेश गरेको छ । यसरी युक्रेनको आन्तरिक विवादको अन्तर्राष्ट्रियकरणसँगै सुरु भएको रूस र पश्चिमी शक्ति बीचको रस्साकसी क्रिमियाको स्वामित्व रूसमा सरेपछि अन्तर्राष्ट्रिय राजनीति स्वयम् संक्रमणकालमा प्रवेश गरेको छ । यसबाट रूस र पश्चिमी विश्व बीचको संघर्षले विश्व शक्ति सन्तुलन फेरिनेमात्रै हैन, ठूला शक्तिहरूबीच सुरु हुने रणनीतिक तानातानले सामरिक महत्त्वको भूस्थापन भएका कमजोर देशहरूको भविष्यसमेत अनिश्चयको घेरामा पर्छ भन्ने कुरालाई नेपालले हेक्का राख्नुपर्छ ।
युक्रेनको सिमाना पुनः रेखाङ्कनको यो घटनाले युक्रेनको सिमाना पुनः रेखाङ्कन भएर सन् १९८९ मा स्थापित यथापूर्व स्थितिको व्यवस्थालाई अन्त्य गरेको छ । क्रिमिया पूर्वी युरोपमा र युक्रेन पश्चिमी युरोपमा विभाजित भएपछि युरोपको नक्सा दोहोर्‍याएर कोरिने जोखिमपूर्ण क्रम सुरु हुने आशङ्का छ । यसैले अहिले विकसित र विकासोन्मुख देशहरूका नीति निर्माता र सामरिक विश्लेषकहरूबीच पूर्व-पश्चिमबीच चर्किएको द्वन्द्वको परिणामबारे चिन्तन सुरु भएको हो । विगत १४ वर्षदेखि 'दुई ध्रुवीय विश्वको मृत्यु बीसौँ शताब्दीको सबैभन्दा ठूलो भूराजनीतिक तवाही हो' भन्दै आएका राष्ट्र्रपति पुटिनले क्रेमलिनमा चैत ४ गते आयोजित विशेष बैठकमा दिएको वक्तव्य तथा युरोप र अमेरिकाले रूसविरुद्ध चालेका कदमहरूले विश्व राजनीतिको सम्भावित दिशा र स्वभावको प्रस्ट सङ्केत गरेको छ ।
दोस्रो शीतयुद्धमा युरोप फँस्नुको प्रत्यक्ष प्रभावमा विश्व अर्थतन्त्र अर्को विपत्तिमा पर्ने र स्थापित भूमण्डलीय सुरक्षा व्यवस्थाको अन्त्य हुने जोखिम बनेको छ । परिणाममा अढाई दशक पहिले स्थापित एक ध्रुवीय विश्वको मृत्यु भएर अन्तर्राष्ट्रिय सम्बन्ध संक्रमणकालमा प्रवेश गर्नेछ । यस्तो अवस्थामा राष्ट्रिय चिन्तनबाट परराष्ट्र नीति तर्जुमा र दक्षताबाट कार्यान्वयन भयो भने देशको भलो हुने तर लहड वा व्यक्तिगत सोचबाट निर्देशत रह्यो भने देश विपत्तिमा पर्ने पाठ पहिलो शीतयुद्धले सिकाएको थियो । के नेपालले यो पाठ अहिले सम्झिएको छ ?
चीन र भारत दुबैले आफ्नो तात्कालिक आवश्यकता र भविष्यको जटिलता वा सामरिक सोचबाट रूस र युरोप तथा अमेरिकाबीच चर्किएको द्वन्द्वमा आफ्नो अडान प्रस्ट पारेका छन् । दुबै छिमेकीहरूको अभिवृत्तिमा आधारभूत भिन्नतासँगै तात्कालिक लाभ र भविष्यको चिन्ता वा सुविधामा पृथक मूल्याङ्कन पनि अनुभव हुन्छ । यी दुबै अडानमा मानसिकता फरक छ, एउटा देशले अर्को देशबाट गर्ने अपेक्षा तथा सानो देशसँग ठूलो देशले हकदाबी गर्नसक्ने अवस्थाप्रतिको सोच पनि फरक छ । यसको उल्झन आजको नेपालका लागि जटिल र भविष्यका लागि खप्न नसक्ने बोझ हुनसक्छ । तर यस्तो गम्भीर विषयमा पनि नेपाल सरकार मौन बसेको छ, प्रमुख दलहरू आपसमा सत्तालक्षित शब्दवाण छोड्न नै मग्न छन् । राष्ट्रिय हितका मामिलामा सामुहिक चिन्तन गर्ने संस्कृतिको खडेरीबाट नेपाल अहिले पनि मुक्त हुन नसक्नु दुर्भाग्यलाई आमन्त्रणमात्रै हो ।
अहिले रूस र पश्चिमी शक्ति बीचको सन्तुलन शक्तिमा चीन स्थापित भएको छ । यो घटनासँगै विश्वको दोस्रो ठूलो आर्थिक शक्तिको सामरिक हैसियत एवं विश्व राजनीतिको शतरञ्जको खेलमा प्रभुत्व ह्वात्तै बढेको छ । यसलाई पुष्टि गर्दै 'पश्चिमी देशहरूसँग जति सम्बन्ध बिगि्रन्छ, त्यत्ति नै रूस चीनको नजिक जान्छ । चीनले साथ दिएपछि कसैले पनि रूसलाई एक्लाउन सक्दैन' भन्ने मस्कोका चीनविज्ञहरूको भनाइ चैत ७ गते रोयटर्सले सार्वजनिक गरेको थियो ।
रूस र चीन बीचको बलियो गठबन्धन अमेरिकाको लागि प्रतिकूल हुन्छ । यसको परिणाममा चीनविरोधी रणनीतिमा धार लगाउन अमेरिकालाई हतारो हुनसक्छ । नेपालको लागि यसमा चासो हुन्छ ।
तसर्थ फेरिन लागेको विश्व शक्ति सन्तुलन तथा दुबै छिमेकीहरूको हैसियतमा आएको परिवर्तनलाई बुझेर आफ्नो आन्तरिक र अन्तर्राष्ट्रिय व्यवहारलाई समायोजन वा पुनःसमायोजन गर्न नेपालले अबेर गर्नु हुँदैन ।
- See more at: http://www.ekantipur.com/np/2070/12/12/full-story/386304.html#sthash.snfn6XrU.Ty9Y3qC5.dpuf

No comments:

पहिचान सहितको सङ्घियता र जिरेल समाज

जिरेल भएको नाताले जिरेल समाजमा जिरेल भाषा सहित आफ्नो परिचयले नै अधोगति लीई रहेको अवस्थाले मलाई चिन्तित बनाएको छ । हामी जिरेल हरुले हाम्रो ...