Tuesday, March 11 , 2014 | मंगलवार, फाल्गुण २७, २०७० | Setopati‘‘काठमाडौँ खाल्डोका महिलामा त मनोबल नै छैन, ‘धेरैजसो समय श्रृङ्गार गरेरै बित्छ। सिर्जनशील समय यस्सै खेर फाल्छन्,’ ओनसरी अचम्म पर्छिन्, ‘बरु गाउँकै महिला हकी!’
‘हामीलाई छाडेर जाने भए किन पाएको त?’ सानैमा यस्ता प्रश्न सोध्ने त्यही छोरी आजकाल भन्न थालेकी छन्, ‘बाआमा त्यसरी नगएको भए हामीले गाउँकै स्कुलमा पढ्नु पर्थ्यो।’
संविधानसभा उपाध्यक्ष ओनसरी घर्तीमगरकी १५ वर्षीया छोरीले अझै धेरै बुझ्न बाँकी छ।
आफ्नी आमाले गरेको क्रान्तिले उनलाई र उनीजस्तै बच्चाबच्चीको भविष्य के बनायो?
बुझ्न बाँकी छ उनकी आमाले सपना देखेकी थिइन्– नेपालका प्रत्येक बच्चाबच्चीले उनले झैँ राम्रो शिक्षा पाउन्।
छोरीले पछि बुझ्दै जाने छिन् भनेर ओनसरी आफँै ढुक्क छिन्।
आफ्ना बच्चा त्यसरी चटक्क छोडेर, हतियार नबोकेको भए ओनसरी आज संविधानसभाको उपाध्यक्ष हुन पाउने थिइन कि थिइनन् कुन्नि!
उनी र उनीजस्तै मान्छेहरु युद्धमा नगएको भए के हुन्थ्यो?
यस्ता प्रश्नका धेरैथरि उत्तर आउन सक्छन्।
उनी आफ्नो पार्टीबोली टपक्कै टिपेर बोल्छिन्, ‘जनयुद्ध नभएको भए, नेपालमा यति ठूलो परिवर्तन हुँदैनथ्यो, राजतन्त्रको अन्त्य हुन सक्दैनथ्यो...’
राजनीतिका यस्ता बहसमा ओनसरी घन्टौँ बोलिरहन सक्छिन्। यसरी बोलिरहन सक्ने उनलाई केले बनायो?
उनीसँग जवाफ छ– समाजले, यहाँ हुने अन्यायले र त्यसविरुद्ध आफूहरुले छेडेको क्रान्तिले।
साँच्चै युद्धमा नगएको भए रोल्पा माडीचौरका एक किसानकी छोरी उनी के हुन्थिन् होला?
‘म धेरै बढी हुन्थेँ भने शिक्षिका हुन्थेँ’ उनी भन्छिन्, ‘हो म शिक्षिका चाहिँ हुन्थेँ।’
छोरीमान्छेलाई पढाउने चलन नभएको समाजमा शिक्षिका बन्नु साह्रै ठूलो कुरा थियो।
तै पनि, उनले झण्डैले स्कुल जान छोड्न परेको थिएन।
दिदीको बिहे भएपछि पालो उनैको थियो। घरको काम गर्न दाइले स्कुल छोडेनन्। छोड्नै त उनले पर्ने, किनभने उनी छोरी हुन! गाउँभरिका दिदीबहिनीले घरको काम गर्न स्कुल छोड्थे।
छोरीका लागि स्कुल त फुर्सदमा जाने ठाउँ थियो।
बिहानै उठेर अहिले आफ्नी छोरीले झैँ कापिकिताब समात्न उनले कहाँ पाउँथिन् र?
आफूभन्दा ठूलो घाँसको भारी ल्याएर गोठमा फालेपछि, चराले झैँ खाना टिपेर स्कुल जान पथ्र्यो।
खेतीपाती छोरीहरुले नै धान्नपथ्र्यो। बाली लगाउने र काट्ने बेलामा उनीहरुलाई खाने फुर्सद हुन्थेन, स्कुल त परको कुरा!
उनले पढ्न पाउनु त संयोग थियो।
तीन क्लास पास गरेर ४ मा जानेवेला उनको स्कुलले वार्षिकोत्सव मनाउँदै थियो। वार्षिकोत्सवमा खेल प्रतियोगिता थियो। छ वटा खेलमा उनले भाग लिइन्।
सबैमा पुरस्कार जितिन्। ३ कक्षामा दोस्रो भएर ४ कक्षामा पुगिन्। आफ्नै कर्मले, आफ्नै बल र मेहनतले उनले पढ्न पाइन।
दाइहरु कम्युनिष्ट पार्टीमा लागिसकेका थिए, स्कुल नजा भन्न सकेनन्।
त्यत्रा पुरस्कार ल्याउने छोरीलाई स्कुल नजा भन्नु मनासिब देखेनन् होला बाले पनि।
उनीलाई स्कुल जानबाट अब कसैले रोक्न सकेन।
जब उनीहरु दिदीबैनी ठूला हुँदै गए, फुपुहरु आफ्ना छोरा देखाएर उनीहरुलाई माग्न आउन थाले। यो माग्ने चलन पनि छोरी मान्छेको जिन्दगीका लागि पासो थियो।
गाउँमा त्यतिखेर, जलजला युवाक्लव भन्ने संस्था थियो, सांस्कृतिक क्रियाकलापलगायत अन्य चेतनामूलक कार्यक्रम पनि गथ्र्यो। उनी पनि त्यसमा गीत गाउन, नाच्न जान थालेकी थिइन्।
त्यसैको प्रभाव होला, बाले भन्दा पहिले फुपुहरुलाई हुन्न भन्ने जवाफ दिएर पठाउँथिन्। उनको चेतमा बसिसकेको थियो पढ्नुपर्छ र शिक्षिका बन्नुपर्छ भन्ने।
जलजला युवाक्लवमा पुस्तकालय थियो। त्यहाँबाट उनले झिकेर पढिन् ‘माकुरा र झिंगाको कथा’, ‘सात काँटी सलाईको कथा’ र ‘चम्किलो रातो तारा।’
तिनैले किताबले सम्झाए, उनलाई धनिगरिबका कथा। विभेदका कथा।
चम्किलो रातो ताराको फुच्चे नायक उनको मनमा गढेर बस्यो।
त्यसपछि उनले आफ्नै जीवनमा अनुभव गरिन्, धनी र गरिब हुनुको अन्तर।
उनको गाउँको माघी मेलामा, एकजना मान्छे रक्सी खाएर खोलामा बगेर मर्यो।
अकस्मात पुलिस आएर ओनसरीको माइलो दाइलाई समायो र गाउँको अर्को दाइलाई पनि लग्यो।
पञ्चायतको उत्कर्ष थियो। दाई कम्युनिष्ट थिए, अर्का कांग्रेस।
सँगै समातिएका अर्का मान्छे त पैसा तिरेर छुटे। उनीहरुसँग पैसा थिएन। धनी भएको भए आफ्नो दाइ पनि छिटै छुट्न सक्ने रैछ भन्ने उनले थाहा पाइन्।
दाइ जेल परेपछि, पाखोबारीको जमिन जोत्ने बा नै थिए, तर सक्दैनथे। बाको दुख देख्न नसकेर ओनसरी आफैले जोत्छु भन्न थालिन्।
उनका बाआमा एकदमै धर्म मान्ने। छोरीलाई हलो जोताए धर्म नास हुन्छ भन्ने चलन थियो। किन दिन्थे र बाले?
एकदिन उनी कस्सिइन्।
‘बा धर्मसर्म छोड्दिनुस्,’ उनले भनिछन, ‘मै जोत्छु, घरको छाना नि मै लगाउँछु, तपाईँले धर्म छाडेमात्रै मैले जोत्न पाउँछु।’
नौ बर्षको उमेरमै उनलाई केले दियो मूल्यमान्यता भत्काउने साहस?
छोरीमान्छे भए पनि सक्छु भन्ने चेतले कि पैसा नभएर दाजु जेलबाट छुट्न नसकेको तोडले?
उनका बाले धर्म छाडिदिए र छोरीकै भर परे।
समाजले बाउ छोरीलाई धिक्का¥यो धर्म नासे भनेर। त्यहीबेला उता दाइलाई पुलिसले यातना दिएको खबर आउँथ्यो। र, कहिले घुस दिए छोडिदिने खबर।
धेरैपछि हो, ९० हजार रुपैयाँ बल्लबल्ल जुटाएर उनीहरुले खै कहाँ हो, बुझाए, दाइ छुटे।
दाइ छुटे पनि उनको मनमा प्रश्नहरुको हुण्डरी चल्यो।
मान्छे मारेको भए दाइ किन छुट्यो?
नमारेको भए त्यत्रो पैसा किन तिर्नुपर्यो?
धनीले त पैसा भए मुद्दा लड्न पनि पर्दो रैन छ। निर्दोष थियो भने दाइ किन समातियो? त्यो मान्छे आफैँँ मरेको साक्षी थियो, उसको कुरा किन सुनिएन?
प्रश्नको उत्तरै भेटिनन् उनले। त्यसैले जन्मायो शायद व्यवस्थाप्रतिको वितृष्णा। पुलिस र न्यायप्रतिको रोस।
सानै थिइन्, दाइले दिन्थे कुन्नि के के लेखेका ह्याण्डस्लिप। उनलाई के लेखेको र कसले लेखेको पनि थाहा हुन्नथ्यो।
कसैलाई नभनी टाँस्नु भन्ने उर्दी दिन्थे दाजु। उनले लुकेर गाँउघरका भित्ताभरि टाँसेर भ्याउँथिन्।
कसैले भेउ पाउँदैनथे। त्यही थियो, उनको भूमिगत जिवनको पहिलो कक्षा।
त्यो २०४६ सालको जनआन्दोलनको बेला थियो। जब कान्छो दाइ समातिए, उनले थाहा पाइन् आफुले लुकेर टाँसेका पर्चा पञ्चविरुद्ध लेखिएका थिए।
जब सात क्लासमा पढ्थिन् कोटगाउँमा, स्कुलमा संगठन बन्यो र त्यसको सदस्य भइन्।
हाइस्कुल पढ्न सदरमुकाम आउनुपथ्र्यो। आठ क्लासदेखि पढ्न लिवाङ आइन्।
लिवाङ उनको सपनाको बाटोको एउटा देउराली मात्रै थिएन्, लिवाङले उनलाई बतायो, धनीगरिबको, जातपातको र उपेक्षितहरुको कथा।
लिवाङले नै बनायो उनलाई लडाकु।
लिवाङमा आएर मात्र उनले सुनेकी हुन अल्लि राम्रो र सभ्य भनिने नेपाली भाषा। उनी मातृभाषा (मगर) मै बोल्थिन्, धेरै नेपाली बुझ्दैनथिन्।
नेपाली भनेको उनको गाउँमा बोल्ने दलितहरुको भाषा हो। त्यस्तो बोल्दा लिवाङको स्कुलमा उनी अर्कै दर्जाकी भइन्।
९० जना विद्यार्थी बीचमा बसेर पढ्न पथ्र्यो। अघिल्लो सिट ओगट्न छिटो आएर झोला राख्थे। प्रार्थना सकेर आउँदा आफ्ना झोला पछि पुगेका हुन्थे कि भुँइमा। पछिल्लो सिटमा बसेर सरले पढाएको बुझिदैँनथ्यो।
‘हामीलाई त टिमुर गनाउने भनेर छेउमा बस्न पनि दिँदैनथे,’ उनी अहिले सम्झिन्छिन्, ‘जनजाति भनेर नि हेप्दा रैछन, अर्कै भाषा बोल्नेलाई पनि हियाउने रैछन्, यस्ता विभेद थाहा पाएको मैले लिवाङ आएर मात्रै हो।’ उनको गाँउमा क्षेत्री बाहुन थिएनन्। जनजातिहरुमा विभेद धेरै हुन्नथ्यो।
एकदिन उनको विचार आयो, आफूलाई अघि बस्न नदिनेहरुलाई गोद्ने।
अघिल्लो सिटमा झोला राखेर उनी प्रार्थना गर्न नगई पछिल्लो सिटमा ढुकेर बसिन्। प्रार्थना सकेर केटाकेटी हुरुरुरु भित्र आए।
एकजना अग्ली केटी आएर उनको झोला फ्याँकिदिइन्– टिमुर गनाउनेले अघि झोला राख्ने?
बुरुक्क उफ्रेर ओनसरीले भनिन्– ए दिदी, त्यो किताब उठाएर त्यही बेन्चमा राख्ने हो भने राख, नभए आज जे पनि हुन सक्छ।
उनले पाखुरा सुर्केको देखेपछि उनीहरुले झोला उठाइदिए। त्यसपछि त्यो बेन्च सधैँभरि ओनसरीहरुकै भयो।
उनले आफ्नै बलमा लडेर आफ्नो अधिकार स्थापित गरेको त्यो पहिलो अनुभव थियो।
‘मलाई त एक्लै देखे पनि डराउँथे,’ उनले लडाकु शैलीमै भनिन्, ‘केटी जिस्काउने र आवारा केटालाई त म समातेर एक्लै गोद्थेँ।’ ओनसरी हिट भइन मान्छे गोद्ने केटी भनेर।
बहुदल आएपछि पनि उनको पार्टी भूमिगत थियो। आफू सदस्य भएपछिमात्र उनलाई थाहा पाएकी हुन् बाहिर जनमोर्चा भनेर चिनिने उनको पार्टीको बास्तविक नाम एकताकेन्द्र थियो।
५१ सालमा उनको पार्टीले वाइसिएलबाट छानेर लडाकु दल बनायो। उनी पनि छानिइन्। अब पार्टी युद्धमा जाँदै छ भन्ने गाइँगुइँ चलिसकेको थियो। पछि उनको पार्टीको नाम माओवादी भयो।
‘चम्किलो रातो तारा’को प्रभाव, उनलाई जनयुद्धमा जानु थियो।
५२ सालमा युद्धको थालनी गर्दा रोल्पाको होलेरीमा लडेको पहिलो लडाइँमा उनी सामेल हुन पाइन्। उनीसँग दुईवटा सिसाका बम थिए। उनीहरुले चौकी कब्जा गरे।
त्यो चौकी हान्ने योजना प्रोपागाण्डा बढी थियो। उनीहरुले जनयुद्धको औपचारिक जनाउ होलेरी चौकी हानेर गरेका थिए।
‘धेरै ठूलो परिवर्तनका लागि,’ उनीहरु युद्धमा होमिएका थिए ज्यानको बाजी थापेर।
ज्यान के ठूलो थिएन उनीहरुलाई? मृत्यु के डरलाग्दो हुँदैन छापामारहरुलाई?
‘मानसिक रुपमा तयार भएपछि मृत्यु पनि सहज हुँदो रैछ हो,’ संविधानसभाको उपाध्यक्ष पूर्वलडाकुले भनिन्, ‘मर्नुमा पनि आनन्द हुँदो रैछ, सपनाहरुका लागि मर्ने भनेपछि त।’ अनुहारमा केही भावहरु देखा परे, उनको अनुहार गर्विलो देखियो।
...
उनी यस्ती लडाकु हुन् जो राज्यविरुद्धको पहिलो र अन्तिम युद्धमा सामेल थिइन्।
ज्यानसँग साटेको उनको सपनाको लागि युद्धको भ¥याङ चढेकी हुन् उनले।
त्यो युद्धले ओनसरी जस्तै केहीलाई त नेता बनायो। तर अझ सामान्य मान्छेहरुलाई के दियो? के हतियार बिसाएपछि, ओनसरीले देखेको सपना पुरा भयो?
तयारी उत्तर छ उनी र उनीहरुसँग, ‘हामी परिवर्तनका लागि अझै लडाइँमै छौँ।’
उनीभित्रको लडाकुले भन्या,े ‘सुरुमा हामीले धेरै कुरा सोच्याथ्यौँ, हुन त हामीले रोजेको बाटो यो होइन।’
के उनी अझै लडाकु नै छिन्? त्यो भर्भराउँदो आशा बोकेर हिँड्ने लडाकु जसलाई बानी परेको छ भनिरहन, ‘हामीले सोचेको परिवर्तन हुन्छ हुन्छ म विश्वस्त छु।’
आमासँग युद्धमा जान्छु भन्न गाउँ माडीचौर पुगेकी थिइन्।
‘म जान्छु आमा,’ उनले भनिन्।
‘किन?’
‘राजा फाल्न।’
त्यसपछि ओनसरीले धनिगरिब बराबरीजस्ता आफ्ना सपनाका कुरा सुनाइन्।
आमाले चुनौतीजस्तो भाषामा भनिन्, ‘अरु त मान्छु, राजा फाल्न चाहिँ सक्दैनाँ।ै’
सोझी आमालाई राजा ठूलो र शक्तिशाली लाग्थ्यो।
‘ठूला ठूला परिवर्तनको हिसाब नगर्ने हो भने पनि,’ ओनसरीले भनिन्, ‘देशका कुनाकुनाका मान्छेमा पनि राजनीतिक चेतना जाग्यो, आफ्नो अधिकारका बारे बोल्न सक्ने भए जनता, न्याय पाउन जाने ठाउँ खोज्न थाले।’
यस्ता परिवर्तनका लागि पनि आफ्नो लडाइँलाई जस दिन्छिन् उनी।
उनी सानै हुँदा, उनको गाउँमा क्लवले घरघरमा चर्पी बनाइदिएको थियो। दुईचार दिन त प्रयोग भए होलान् तर महिना दिनपछि जाँदा चर्पीमा बाख्रा बाँधिएका हुन्थे र मान्छेहरु जंगलमै दिशापिसाब गर्न जान्थे। ‘त्यस्तो थियो चेतनास्तर! अहिले चर्पीमा पानी चाहिने भएरै पानी ल्याउने आयोजनाको माग भएको छ,’ उनले भनिन्।
‘महिलाको मनोवल बढ्यो, कति धेरै महिलाहरुले आफैले निर्णय गर्न थाले,’ उनले थपिन्।
उनी प्युठानको कुनै सेल्टरमा थिइन्। साँझपख आँगनमा टहलिरहेकी। मुटु ठिहिराउने जाडो थियो। एकजना महिला तलबाट पानी बोकेर आउँदै थिइन्, खुट्टाको चप्पल हातमा बोकेर।
सोधिन्, ‘किन चप्पल हातमा बोकेको?’
‘बाटोमा जेठाजु भेटिन्छन्, उनको अघि चप्पल लगाउनु हुँदैन।’
‘त्यो बेला मैले संसार कस्तो सोच्याथेँ! अब हेर्नुस् कस्तो भयो होला मलाई?’
बेलुका ती महिलालाई त्यसरी नहिँड्न सम्झाउन गइन् उनी। उनले जवाफ दिइन्, ‘त्यसो गरे घरबाट निकाल्छन् मलाई, अनि तिम्ले के गर्छौँ?’
यसै गर्छु भन्ने जवाफ थिएन उनीसँग। उनको अनुभवमा अहिले गाउँगाउँमा पनि यतिसम्मको अन्याय छैन रे।
जनसेनामै महिलाहरु पनि कमाण्डर हुन हिच्किचाउँथे। जब पार्टीले महिलाको अलग संरचना बनायो, बल्ल महिलाहरु सेनाको कमाण्ड गर्न थालेका हुन्।
शिक्षाले भन्दा ठूलो परिवर्तन राजनीतिक चेतले ल्याउने ठान्छिन् उनी।
उनी गाउँमै हुर्किन् र उतै राजनीति गरिन्। शहरका महिलाका बारे उनले धेरै राम्रा कुरा सोच्थिन्। स्कुल, कलेज पढ्न जान पाउनु, राम्रो मिठो लाउन खान पाउनु, अलग र समुन्नत जिन्दगी होला!
जब शहर आइन्, उनले शहरी जीन्दगी जस्तो सोचेकी थिइन्, त्यस्तो होइन रैछ।
‘यो खाल्डो हेर्दा त कस्तो रैछ भने, यहाँका महिलामा त मनोबल नै छैन,’ उनी अहिलेसम्म अचम्म पर्छिन्, ‘यहाँका महिला त श्रीमानको मोजा फुकालेरै बस्दा रैछन्।’
बरु गाउँकै महिला हकी!
ओनसरी ठान्छिन्, शहरका महिलाको धेरै जसो समय श्रृङगार गरेरै बित्छ। उनीहरु सिर्जनशील समय यस्सै खेर फाल्छन्। महिलालाई तयार हुन पुरुषलाई भन्दा दुई गुणा समय लाग्छ।
कहिलेकाहिँ त सारीमै अल्झिएझैँ लाग्दो हो, यहाँका धेरै महिलाको जिन्दगी!
कति ठूला, मानसिक र शारिरिक लडाइँ लडेर संविधानसभाको उपाध्यक्ष भएपछि, उनलाई एउटै कुराको पिरलो छ, औपचारिक ड्रेसकोड सारी!
...
हतियार विसाएपछि उनी राजधानी आइन्। पहिलो संविधानसभाको समानुपातिक सभासद भइन्। दोस्रो संविधानभामा रोल्पा बाट प्रत्यक्षमा जितिन्।
अब उनको लडाइँ फेरियो। संसदमा लड्नु पनि कम गाह्रो हुन्न।
खास गरि संविधानसभामा, उनले महिलाका एजेण्डामा काम गरिन्।
सबै पार्टीको ककस बनाए उनीहरुले।
पुरुष नेताहरु ककसलाई सकस भन्थे।
उनीहरुले चाहेजस्तो महिलाका अधिकार स्थापित हुने हो भने त ‘पुरुषको चिल्ली विल्ली’ हुन्छ रे।
‘५१ प्रतिशत महिला सहभागिता हुँदा त कम्तीमा चुनावको कुरा गरौँ, ५१ जना पुरुषले त्यो आफ्नो पद गुमाउनुप¥यो,’ उनी हाँसिन्, ‘त्यो त्याग गर्न त नेताहरुलाई सकस हुन्छ नि।’
महिलाका कुरा ग¥यो पुरुषहरु हाँसिहाल्ने। खै तपाईँ महिलाहरु उठाउन खोज्यो एक जना त भेटिन्न भनेर हल्का कुरा गर्दिन्छन्, उनीहरु गहिरोगरी समस्यालाई बुझ्नै चाहँदैनन्, त्यो किसिमको चेत पनि छैन कति नेताहरुमा त।
...
रमाइलो गर्ने किशोरी उमेरमा पार्टीका काम र अन्याय गर्नेहरुलाई गोदेरै बित्न थाले उनको।
प्रेम, बिहेबारे यिनले के सोचिहोलिन्?
ओनसरीलाई यस्तो केटा मन पथ्र्यो, जसले रक्सी चुरोट नखाओस्, इज्जत होस् र आत्मनिर्भर होस्।
पछि सर्त थपिँदै गए, जसले राजनीति गर्न रोक नलाओस्। निर्धक्क देओस् पार्टीका काममा जहाँसुकै जान।
उनका बाले पनि भन्थे केटा असल हुनुप¥यो बस्। हो, त्यस्तै मान्छे भेटिए – वर्षमान पुन।
उनकै पार्टीका पढालेखा भलाद्मी थिए।
उनीहरु नातेदार समेत पर्थे। पार्टीले पनि स्वीकृति दियो।
लिवाङमै पार्टीको दुईचार दिने कार्यक्रम थियो। त्यही कार्यक्रमको बीचमा पार्टीले नै उनीहरुको बिहे आयोजना गरेको रैछ।
अरु केटीहरु झैँ घुम्टोमा सजिइनन् उनी। कार्यक्रमको मञ्चमा चुनावी भाषण गरेझैँ उनीहरुले भाषण गरे। अबिर लगाए। बिहे भयो।
सबै भन्दा अचम्मको कुरा, बिहेपछि उनीहरु एकछिन पनि सँगै बसेनन्।
उनलाई नयाँ दुलही जस्तो अनुभव नै भएन, मिल्ने साथीसँग छुटिँदा जस्तो हुन्छ, त्यस्तै भयो!
त्यहाँभन्दा बढी भावुक हुन उनीहरुलाई केले दिँदैन? पार्टीले? कि आफ्ना धारणाहरुले?
आफ्नो प्रेम, बिहेबारे सम्झिरहँदा उनको अनुहारमा कुनै पनि रमाइला भावहरु देखिएनन्। एकदम सामान्य।
मान्छेलाई यति धेरै सामान्य केले बनाउँदो हो?
बिहेको मञ्चबाट, दुवै आ–आफ्नो काममा खटिए। उनीहरु आफ्ना थिएनन्, पार्टीका थिए। निजी जीवनभन्दा ठूलो पार्टीको कार्यक्रम थियो। युद्ध हुँदै थियो।
उनीहरु अहिले पनि आफ्ना व्यक्तिगत कुरामा भन्दा बढी पार्टीकै मुद्दामा झगडा गर्छन् रे। अर्थमन्त्री भइसकेका उनका श्रीमान एकदमै सोझो र अरुको कुरा काट्न नसक्ने छन् भन्ने उनको आरोप छ।
‘म चाहिँ कडा छु, कहाँ जे पनि सजिलै छोडेर हुन्छ?’ उनी अबचाहिँ हाँसिन्।
व्यक्तिगत जिन्दगी नै पार्टीको नाम गर्दिएकी उनले ५५ सालमा छोरी जन्माइन्, धन्न छोरी हुर्किन्जेल पार्टीले उनलाई रोल्पा वरिपरि नै खटायो उनलाई। अल्लि पछि भने आमालाई छोरी दिएर हिँडिन्।
उनलाई आफू बाँच्छु जस्तो त लाग्थेन।
‘कुनै सेल्टरमा बच्चा देखे खुब माया गर्न मन लाग्थ्यो,’ उनले आफ्नो अनुभव व्यक्त गर्नै सकिनन्।
उनी कहिलेकाहिँ घर पुग्दा रिसाएर छोरी काखमै आउँदिनथिइन् रे।
उसको प्रश्न सधैँ एउटै हुन्थ्यो, ‘छोडेर जाने भए हामीलाई किन पाएको त?’
फेरि छोरा पनि जन्म्यो, ७ महिनामै आमाको काखमा थमाएर उनी हिँडिन्।
युद्ध थामिएपछि उनको सानो छोरालाई लिएर आमा काठमाडौँ आइन्।
छोराले त उनलाई आमा नै मानेन।
‘यस्तो तरुनी पनि आमा हुन्छ त?’ उनको छोराले भन्यो, ‘आमा त बुढी हुन्छ।’
उनकी छोरीले भाइलाई यै हो आमा भनेर धेरै सम्झाएपछि बल्ल मान्यो।
No comments:
Post a Comment