Sunday, June 23, 2013

आफ्नै हित नबुझ्ने वैद्य माओवादी


  • ध्रुवराज अधिकारी

baidhya biplovनेपाली कम्युनिस्ट आन्दोलनका ‘पितामह’ मोहन वैद्यको नेतृत्व छ, नेकपा–माओवादीमा । मोहन वैद्य एमाओवादी अध्यक्ष प्रचण्डका पनि गुरु मानिन्छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ जस्ता प्रभावशाली युवा नेता पनि यो पार्टीमा छन् । विप्लव एकीकृत माओवादीलाई विभाजन गरेर नेकपा–माओवादी निर्माण गराउने प्रमुख योजनाकार र पहलकर्ता समेत हुन् । प्रचण्ड युगको अन्त्य गरेर विप्लव युगको जन्म गराउन चाहन्छन्, नेत्रविक्रम । शान्तिप्रक्रियामा आएपछि हिजोको माउ पार्टी एकीकृत माओवादीमा ‘उपेक्षित भएको’ पीडा, इख वा भ्रम छ, महत्वाकांक्षी विप्लवलाई । महाभारतको ‘कर्ण’सित विप्लवको नियति मिल्दोजुल्दो छ । ‘इख’ले भित्रभित्रै जलाइरहेको छ र मानभित्रको त्यही आगोले सञ्चालित छन्, उनी ।
एकीकृत माओवादीबाट अलग भएपछि वैद्य–विप्लव समूहलाई त्यसको औचित्य साबित गर्नुछ । त्यो उनीहरुले सकिरहेका छैनन् भन्ने धेरैको आरोप छ । एमाओवादीभित्र बढ्दै गएको वर्गविभाजन र खासगरी शक्तिकेन्द्रका आड लागेर आफूसित असहमतलाई अर्कै कित्तामा धकेलिदिने एमाओवादीका मध्यम स्तरका नेताको प्रवृत्ति र कसैप्रति वफादारीकै आधारमा उनीहरुले उक्त अनुचित कार्यका लागि पाएको वैधताले गर्दा पनि जनयुद्ध लडेका थुप्रै नेता–कार्यकर्ता वैद्य–विप्लव क्याम्पमा सामेल भएका हुन् भन्नेहरु पनि पूरै गलत छैनन् । तर, नेकपा–माओवादीले महाधिवेशनबाट कुनै स्पष्ट कार्यदिशा ल्याउन नसकेको माओवादी नेता–कार्यकर्ताकै गुनासो छ । पार्टी फुटको औचित्य साबित गर्न र राजनीतिमा छुट्टै ‘स्पेस’ बनाउन वैद्य माओवादीले जे जस्ता कार्यनीतिक नारा अघि सारेको छ तिनले अन्ततः वैद्य समूह स्वयम्को अहित गर्ने देखिन्छ ।
एक्लिदै वैद्य समूह
वैद्य माओवादीले तत्कालीन कार्यनीतिको रुपमा ‘सर्वपक्षीय गोलमेच सम्मेलन’को नारालाई अघि सारेको छ । चार दलबीच भएको ११ बुँदे सहमति र राष्ट्रपतिले जारी गरेको २५ बुँदे बाधाअड्काउ आदेश खारेज गरी रेग्मी सरकारलाई हटाएर सर्वदलीय सरकार गठन गरिए मात्रै चुनावमा भाग लिने वैद्यहरुको सार्वजनिक अडान छ । तर, उक्त अडान वैद्य समूहको खास अडान हो वा चुनावमा नजाने बहानावाजीमात्र भन्ने विषय भने अस्पष्ट नै छ । यस विषयमा वैद्य माओवादीभित्रै मतान्तर छन् भन्ने खबर पनि नआएका होइनन् ।
पछिल्लो समयमा वैद्यको नेतृत्वमा रहेको ४२ दलीय गठबन्धनभित्रै पनि वैद्यहरु चुनाव भाँड्नकै लागि यो सबै गरिरहेका छन् भन्ने आशंका बलियो बन्दै गएको छ । परिणामस्वरुप उक्त गठबन्धनका नौ दल अलग्गिने तयारीमा रहेको खबर आजको छापामा आएको छ । मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय लोकतान्त्रिक मोर्चामा रहेका आठ दल र अशोक राईको नेतृत्वमा रहेको संघीय समाजवादी पार्टी अलग हुन लागेका हुन् । हालसालै एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई र एमाले नेता भीम रावलले फोरमका अध्यक्ष उपेन्द्र यादवसँग गोप्य रुपमा भेट गर्नु र छापामा वैद्य गठबन्धनमा चिरा परेको खबर आउनु पक्कै पनि संयोग होइन । यसबारे एकदुई दिनमा धेरै कुरा स्पष्ट होला नै ।
हुन त वैद्यहरु जस्तै उपेन्द्र यादव र अशोक राईहरु पनि संक्रमणकालीन राजनीतिमा आफ्नो ‘स्पेस’लाई फराकिलो पार्न चाहन्छन् । समानुपातिक प्रतिशत ६० प्रतिशत पु¥याउनुपर्छ भन्ने उनीहरुको माग त्यसैका लागि हो । तर, वैद्य–विप्लवहरु त्यतिमात्र चाहन्नन्, उनीहरु ‘नयाँ युग’को सूत्रपात गर्ने मनचिन्ते झोला बोकेर हिँडिरहेका अभियन्ता हुन् । ࡤ
नचाहँदा पनि प्यादा
संक्रमणकालको अनिश्चय र निराशाको बीचबाट एमाओवादीलाई कमजोर बनाउन नयाँ शक्तिको गर्भाधान गराउने प्रयत्न शान्तिप्रक्रियाको सुरुदेखि नै विभिन्न शक्तिकेन्द्रले गरेकै हुन् । नजानेर हो वा जानीकन पनि परिबन्धले हो वैद्य समूह तिनै शक्तिकेन्द्रको प्यादा बन्न पुगेको छ ।
अनि विप्लव युगको सूत्रपात गर्न चाहने नेत्रविक्रमले पनि के बुझ्नुपर्छ भने २००७ सालको परिवर्तनको जशले नेपाली काँग्रेस आज ६० वर्षपछि पनि देशको दोस्रो ठूलो दल छ भने प्रचण्ड—बाबुरामले जनयुद्धको अन्त्यको घोषणा गरेको त आज सात वर्षमात्रै पुग्यो । कम्तीमा पनि अब आउने एक दशक नेपाली राजनीति प्रचण्ड–बाबुरामकै वरिपरि घुम्नेछ । कुनै सानोठूलो उपद्रव वा निराशाको व्यापारको मार्गबाट नेपाली राजनीतिमा तत्कालै नयाँ नायकको जन्म हुने सम्भावना छैन ।
देशभित्र र बाहिरका अतिदक्षिणपन्थी याथस्थितिवादीहरु र वैद्य माओवादीका माग एकै ठाउँमा संकेन्द्रित भएकोमा वैद्य–विप्लवहरुलाई पनि नमीठो लागेको हुनुपर्ने हो । निर्वाचनको मिति घोषणाको विरोधमा गरिएको नेपालबन्दका दिन वैद्य समूहका प्रभावशाली नेता देव गुरुङले एउटा टेलिभिजनसितको संवादका क्रममा प्रश्न गरेका थिए— राज्यका सबै निकायलाई ध्वस्त पार्ने ? न्यायालयलाई ध्वस्त पार्ने ? शक्ति पृथकीकरणको सिद्धान्तलाई त्याग्ने ? सेनाप्रहरी सबैलाई चारदलको सिन्डिकेटले ध्वस्त बनाउने ? अब हामी हातमा दही जमाएर बस्दैनौ ।
देव गुरुङको उपरोक्त भनाइ दुई कोणबाट विचित्रको छ । पहिलो कुरा त वैद्य माओवादीले पुरानो सत्ताको ध्वंस गरेर नयाँ सत्ता निर्माण गर्न खोजेको हो भने उसको दृष्टिमा यदि गुरुङले भनेजस्तै राज्यका सबै निकाय ध्वस्त हुँदै गएका हुन् भने त्यसमा वैद्य माओवादी खुसी हुनुपर्ने हो । दोस्रो कुरा वैद्य माओवादीका उपरोक्त भनाइ र मागहरु एमाले–काँग्रेसले मच्चाएको कोकोहोलोसित ठ्याम्मै मिल्छन् । नेपाली यथास्थितिवादका दुई खम्बा एमाले र काँग्रेस, र नेपालको सबभन्दा खरो क्रान्तिकारी वैद्य माओवादीका मागमा समानता देखिनुलाई कसरी अथ्र्याउने ?
रिसले खा आफू
नेपालीमा उखानै छ– रिसले खा आफू, बुद्धिले खा अरु । वैद्य–विप्लवलाई पनि एमाओवादीको संस्थापनप्रतिको रिसले खाने खतरा बढेको छ भन्न सकिन्छ ।
यतिबेला वैद्य माओवादीलाई मनाएर मात्रै चुनावमा जानुपर्छ भन्नुका पछाडि एमाले–काँग्रेसको आँकलन हो— वैद्य माओवादीका माग पूरा गराएर उनीहरुलाई चुनावमा लान सके तात्तातै आन्दोलनका माग पूरा गराएर आएको अवस्थामा वैद्यहरुको स्थिति अहिलेभन्दा केही बलियो हुने छ, जसले एमाओवादीको शक्तिमा क्षयीकरण ल्याउन सक्छ । चुनावमा एमाओवादीलाई कमजोर पार्नेबाहेक आफैले जित्ने शक्ति भने वैद्य माओवादीसित छैन । अनि माओवादी विभाजित छ भन्ने सन्देश दिएर चुनावमा एमाले काँग्रेसको स्थिति बलियो बनाउन सकिएला ।
एकछिनलाई मानिलिउँ वैद्यका माग पूरा भए । एमाले–काँग्रेसले चाहेजस्तो वैद्यहरु पनि चुनावामा गए । (वैद्य माओवादी चुनावमा नगए उसका समर्थकको भोट धेरैजसो अरुलाई होइन एमाओवादीका उमेदवारलाई जानेछ ।) एमाले–काँग्रेसको बहुमत आयो र उनीहरुको बहुमतको सरकार बन्यो । वैद्य माओवादीलाई के फाइदा हुन्छ ? त्यतिबेला नयाँ संविधान निर्माण त भाँडिन्छ नै त्यसका अलावा दैलेख प्रकरणहरु ब्युँताइने छन् । र, वैद्य माओवादीका नेता–कार्यकर्ता पनि एमाओवादीका नेताजस्तै जेलमा लगेर कोचिने छन् । नेपालमा अर्को ‘न्युरेम्बर्ग ट्रायल’को अभ्यास हुने छ । (किनकि, पश्चिमाका आँखामा नाजीवादी र माओवादीबीच केही फरक छैन ।) यति मामुली कुरा पनि वैद्य–विप्लवले नबुझ्नु नेपाली राजनीतिको सबैभन्दा ठूलो दुर्भाग्य हो ।
त्यसो भए के गर्ने ?
वैद्यहरुले अब प्रचण्ड–बाबुरामसित सम्बन्ध सुधार्नुपर्छ । यसका लागि एमाओवादीका कृष्णबहादुर महरा र माओवादीका विप्लवले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । महराको वैद्य र विप्लवको बाबुरामसित भएको सौहर्दपूर्ण सम्बन्धबाट अधिकत फाइदा दुवै पार्टीले उठाउनुपर्छ ।
एमाओवादी र ड्यास माओवादीको तत्काल एकता संभव र आवश्यक दुवै छैन । तर, यी दुईबीच कार्यगत एकता र चुनावी तालमेल हुनसक्ने आधारहरु पहिल्याउन सकिन्छ । पहाडमा एमाओवादी र माओवादीबीच चुनावी तालमेल भयो भने दुवै बलिया हुने छन् । मधेसमा त एमाओवादीले मधेसवादी दलहरुसित पनि चुनावी तालमेल गर्ने रणनीति लिएकै छ । अनि यदि वैद्य–विप्लवलाई एमाओवादीले किसान–मजदुरका हितको प्रतिनिधित्व गर्न छाड्यो भन्ने लागेको हो भने पनि चुनावी तालमेलबाट संविधानसभामा आफ्नो उपस्थितिलाई बलियो बनाएर मात्रै ती वर्गको हितको रक्षा गर्न सकिन्छ अनि एमाले–काँग्रेसभन्दा बढी अग्रगामी र जनमुखी त आफ्ना भूतपूर्व सहयोद्धाहरुको दल नै हो भन्ने वैद्य–विप्लवले बुझ्नुृपर्छ ।
जहाँसम्म सरकारविराधी मोर्चा बनाएर संघर्ष गर्ने वैद्यहरुको योजना छ, ठाडै भनिदिऊँ—त्यो सफल हुन्न । उपेन्द्र यादव र अशोक राईहरु वैद्यका लागि सती जाने मान्छे होइनन् । उपेन्द्र र अशोकको के कस्ता शक्तिकेन्द्रसित नाभी जोडिएको छ भन्ने खुला रहस्यको भेउ पाउन नसक्नु वा नचाहनु वैद्यहरुको राजनीतिक सुझबुझमा रहेको दिवालियापनको परिचायक हो ।
- See more at: http://www.ratopati.com/2013/06/23/72669.html#sthash.EDoBjzn6.48Saz4i8.dpuf

No comments:

पहिचान सहितको सङ्घियता र जिरेल समाज

जिरेल भएको नाताले जिरेल समाजमा जिरेल भाषा सहित आफ्नो परिचयले नै अधोगति लीई रहेको अवस्थाले मलाई चिन्तित बनाएको छ । हामी जिरेल हरुले हाम्रो ...