२६ पुस, काठमाडौं । १८ वर्षसम्म दरबारका मूल पुरोहितका रुपमा काम गरेका रमेशप्रसाद पाण्डेले आफूले दरबारबाट १४ रुपैयाँमात्र दक्षिणा पाउने गरेको बताएका छन् । उनले २०४० सालदेखि २०५८ सालसम्म निरन्तर राजदरबारको मूल पुरोहितका रुपमा काम गरेका थिए । उनले साना ठूला जस्ता सुकै काम गरे पनि १४ रुपैयाँ मात्र दक्षिणा पाउने गरेका थिए । पाण्डेले नै दीपेन्द्रको व्रतबन्ध गराएका थिए । यति ठूलो कार्जे गर्दा उनले दरबारबाट जम्मा १४ रुपैयाँमात्र दक्षिणा पाए ।। खासमा दरबारको चलनै यस्तै रहेछ । सानाठूला हरेक पूजामा १४ रुपैयाँ दक्षिणा दिने उनले बताए । पाण्डेले भने-’अझ पहिला त पाँच रुपैयाँ दिने गरिन्थ्यो रे । पछि बढाएर १४ रुपैयाँ पुर्याइएको रहेछ ।’
थोरै दक्षिणा पाए पनि पाण्डेलाई कुनै गुनासो छैन् । खुसी यसैमा छ कि उनले दरबारको पुरोहित भएर काम गर्ने सौभाग्य पाए । पाण्डे मूल पुरोहित हुँदा दरबारमा चारजना पुरोहित थिए । पूर्वराजपरिवार सहभागी सबै पूजामा पाण्डेनै प्रत्यक्ष संलग्न हुन्थे ।
वीरेन्द्रका सबै सामान पाण्डेसँग
राजा वीरेन्द्रले प्रयोग गर्ने सम्पूर्ण सामानहरु पाण्डेले जतनका साथ राखेका छन् । उनले आफ्नो बैठक कोठामा राजाले प्रयोग गर्ने सामानलाई जनतनका साथ सजाएर राखेका छन् । पाण्डेको बैठक कोठामा वीरेन्द्रको कोट, टोपी, चस्मा, घडी, डायरीदेखि लिएर खुकुरी, कलम र परफ्युमसम्मका सामाग्री रहेका छन् । वीरेन्द्रको निधनपछि राजपरिवारले उनलाई ती सामान दान दिएको नयाँ पत्रिकामा खबर छ ।
दरबार हत्याकाण्ड दीपेन्द्रले गरेका होइनन्
दरबारमा भएको हत्या काण्ड दीपेन्द्रले गराउनै नसक्ने मूल पुरोहित पाण्डेले दाबी गरेका छन् । पाण्डेले भने ‘दीपेन्द्र साह्रै भलादमी हुनुहुन्थ्यो,’ उनी सम्झन्छन्, ‘बाबुको त भक्त नै हुनुहुन्थ्यो । उहाँबाट यस्तो कुकर्म भयो होला र ? मलाई त पक्कै यसमा षडयन्त्र छ जस्तो लाग्छ ।’ पाण्डेको भनाई मान्ने हो भने दीपेन्द्र जति ढिला आउँदा पनि बाबुआमालाई ढोग नगरी सुत्न जाँदैनथे । तर राजा हुने लोभमा कसैको उक्साहटमा लागे भने भन्न सकिदैन ।
दीपेन्द्र बुबासँग नडराए पनि मुमासँग धेरै डराउने गरेका थिए । दीपेन्द्रले आफूलाई भनेको सम्झँदै पाण्डेले भने ‘बुबासँग डर लाग्दैन, मुमासँग त अलि डर लाग्छ । हुन पनि व्यवहारमा राजा निकै सोझा र रानि निकै कडा हुनुहुन्थ्यो ।’
No comments:
Post a Comment