रमेश पोखरेल, डा नवराज खतिवडा र डा सुरेशराज आचार्य - कान्तिपुर ।
विगत केही समयदेखि नयाँ राजनीतिक शक्तिको बहसले पत्रपत्रिका र सामाजिक सञ्जाल रंगिन बनेका छन् । यस विषयका चर्चा-परिचर्चाको अहिलेसम्मको स्थितिलाई नियाल्दा शास्त्रमा उल्लेखित तलको श्लोक स्मरण हुन्छ ।
विगत केही समयदेखि नयाँ राजनीतिक शक्तिको बहसले पत्रपत्रिका र सामाजिक सञ्जाल रंगिन बनेका छन् । यस विषयका चर्चा-परिचर्चाको अहिलेसम्मको स्थितिलाई नियाल्दा शास्त्रमा उल्लेखित तलको श्लोक स्मरण हुन्छ ।
यस्मिन् देशे न सम्मानो न वृत्तिनँ च बान्धवा ।
न च विद्यागमोऽप्यस्ति वासस्तत्र कारयेत् ।।
- चाणक्य नीतिशास्त्र, १-८
अर्थात जुन देशमा आफ्नो सम्मान छैन, रोजगारी पनि छैन, जहाँ कुनै बन्धुबान्धवका साथै अध्ययन गर्ने उपाय पनि छैन, त्यहाँ बस्न उपयुक्त हुँदैन । यसैले होला, लाखौंलाख ऊर्जावान नेपालीले देश छाडिरहेका छन् । यस्तो अवस्थामा नयाँ शक्तिको बहसले हाम्रै जीवनकालमा नेपालमा केही गर्न सम्भव छ भन्ने झिनो आशाको टुसो पलाएको छ । तर यो नयाँ शक्ति कसले र कसरी निर्माण गर्ने विषय अझै अनुत्तरित छ । हालका राजनीतिक दलहरू भित्रबाटै तुलनात्मक रूपमा लोकप्रिय रहेका नेताहरूले बनाउने हो कि ? या राजनीति सचेत नागरिक समूहले नयाँ राजनीतिक दल बनाउने हो ? यस्ता अन्योलपूर्ण सवालहरूलाई चिरेर नयाँ शक्तिको स्पष्ट र बृहत परिभाषाको खोजी गर्ने जमर्को यो आलेखमार्फत गरिएको छ ।
यस सन्दर्भमा राजनीति र नेपालको विकास मोडललाई सूक्ष्म अध्ययन गरेका केही अध्येताहरू तथा पत्रकारहरूबाट जुन तरिकाले बहसको उठान भएको छ, यो पक्कै पनि ऐतिहासिक हुनेछ । तर नयाँ शक्तिका अभियन्ताहरू भनेका पेसागत बुद्धिजीवीहरू हुन् र यसको स्वरुप गैरराजनीतिक हो भन्ने अर्थ जनमानसमा पर्नगएको छ । जसले गर्दा राजनीतिक दलको विकल्प गैरराजनीतिक समूह हुनसक्दैन भन्दै मूलधारका राजनीतिक दलहरूले यो बहसलाई ठाडै खारेज गरेका छन् । यहाँनेर बुझ्नु आवश्यक छ, अहिलेका राजनीतिक दलहरूको विकल्प नयाँ राजनीतिक दल नै हुनुपर्छ । अबको बहस यस्तो राजनीतिक शक्ति कस्तो हुने र कसरी निर्माण गर्ने भन्नेतर्फ लक्षति हुनु जरुरी छ । यो आलेखमा नयाँ राजनीतिक शक्तिको सिद्धान्त, संरचना सदस्यता र कार्यविधिबारे चर्चा गरिएको छ ।
नयाँ विचार र सिद्धान्त: नयाँ शक्तिका आलोचकहरूको पहिलो प्रहार यस्तो शक्तिको मार्गदर्शक सिद्धान्तमा परेको छ । तिमीहरूले कुन वादमा टेकेका छौ ? तिम्रो समूहको सामाजिक पृष्ठभूमि के हो ? कुन निर्देशक सिद्धान्तको भर्याङ लगाएका छौ ? आदि प्रश्नहरू उभ्याइएका छन् । वास्तवमा डेढ-दुई सय वर्ष अगाडि सिर्जना भएका कुनै खास वाद बोकेर तिनैको बाकसभित्र तालाबन्दी भई अहिलेको परिस्थितिमा आर्थिक-सामाजिक रूपान्तरण गर्न सजिलो रहेनछ भन्ने अब प्रमाणित भैसकेको छ । बरु समाज विकासक्रममा विकास भएका मानव समुदायको हितमा उपयोगी हुनसक्ने जुनसुकै दर्शन वा सिद्धान्तका राम्रा कुराहरू समावेश गरेर हाम्रालागि उपयुक्त हुने विकासको मौलिक मोडल तर्जुमा गर्न सकिन्छ । हुन त वामपन्थी लप्फाजीहरूले एस्तो मोडललाई सारसंग्रहवाद भनेर नकारात्मक दृष्टिले आलोचना गर्छन् र निम्न कोटीको सिद्धान्तमा वर्गीकरण गर्छन् । तर सारसंग्रहवादले सकारात्मक परिवर्तन ल्याउँछ भने नयाँ राजनीतिक शक्ति सारसंग्रहवादी हुँदा हीनताबोध मान्नु पर्दैन ।
उदाहरणका लागि सिंगापुरका राष्ट्रनिर्माता ले क्वान यु कुनै शास्त्रीय सिद्धान्तवादी थिएनन्, न उनी पुँजीवादी नै हुन्, नत समाजवादी वा साम्यवादी । उनको वाद भनेको प्राकृतिक स्रोत र जनशक्तिसमेत नभएको र अत्यन्त प्रतिकूल अवस्थामा बनेको सिंगापुर राष्ट्रलाई आर्थिक, सामाजिक र बौद्धिक रूपमा समृद्धशाली बनाउने मात्र थियो । अहिले सिंगापुरको प्रतिव्यक्ति आय अमेरिकाको भन्दा पनि बढी छ । शास्त्रीय वादमा टेकेका कुनै पनि मोडलले विकासको मेलो सार्ने लक्षण नदेखाएपछि हामीलाई चाहिएको सिंगापुरको जस्तै सारसंग्रहवाद नै हो भनेर स्वीकार किन नगर्ने ?
त्यसैले नयाँ राजनीतिक शक्तिको निर्देशक सिद्धान्त नेपालमा समावेशी र प्रभावकारी लोककल्याणकारी राज्य व्यवस्थामार्फत आर्थिक-सामाजिक सम्पनता हासिल गर्नु हो । यसका लागि राज्यका नीतिहरूले द्रुत आर्थिक विकास, प्रतिव्यक्ति आयमा वृद्धि, उच्च जीवनस्तर, स्वास्थ्य र शिक्षा- निःशुल्क, कानुनको शासन, प्रगतिशील कर प्रणाली र निश्चित मात्राभन्दा बढीको पैतृक सम्पत्तिमा कर लगायतका मुद्दाहरूलाई प्रत्यक्ष सम्बोधन गर्नुपर्छ ।
नवीनतम र सिर्जनशील संरचना : मानिलिउँ तपाईं विलक्षण प्रतिभाको धनी हुनुहुन्छ । समकालीन राजनीतिक विषयमा उच्चशिक्षा हासिल पनि गर्नुभएको छ । अझ भनौं युगपुरुष नै हुने क्षमता राख्नुहुन्छ । वा यति सक्षम हुनुहुन्छ कि नेपालको ली क्वान यु नै बन्न सक्नुहुन्छ । तर कल्पना गर्नुहोस् त ? अहिले कांग्रेस, एमाले वा माओवादी कुनै राजनीतिक दलको साधारण सदस्यता लिएर केही समयमा यो मुलुकलाई आर्थिक विकासमा फड्को मार्ने अभियानमा नेतृत्व गर्ने सम्भावना देख्नुहुन्छ ? यसकारण नयाँ शक्तिको संरचनाले यस्तो सिर्जनात्मक प्रतिभा र क्षमता भएका नागरिकलाई सहज रूपमा राज्य सञ्चालनको नेतृत्वमा पुर्याउने प्रावधानको किटानी गर्न सक्नुपर्यो । अनि हामी सबैमा यस्तो नेतृत्व अन्तर्गत काम गर्ने इच्छाशक्ति हुनुका प्राप्त उपलब्धिमा गौरवबोध समेत हुनुपर्यो । आधुनिक व्यवस्थापनका नवीनतम सिद्धान्तका आधारमा नयाँ राजनीतिक शक्तिको संरचना बनाउन विलकुलै सम्भव छ ।
जस्तो अमेरिकामा बाराक ओबामा कुनै परम्परागत राजनीतिक पृष्ठभूमिबाट राष्ट्रपति बनेका होइनन् । उनी हार्वार्ड विश्वविद्यालयका कानुनका अध्येता थिए । त्यस्तै बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयर पनि अक्सफोर्ड विश्वविद्यालयमा विद्यार्थी हुँदा कुनै पार्टीका भ्रातृ संगठनका कार्यकर्ता थिएनन् । अरु विधामा जस्तै राजनीतिशास्त्रमा पनि पुराना मान्यताहरू किनारा लगाइएका छन् । त्यसकारण सक्षम व्यक्ति छोटै समयमा राष्ट्रपति वा प्रधानमन्त्रीसम्म बन्न सक्ने संरचना आवश्यक हुन्छ । अहिलेको जस्तो भएमा राजनीतिलाई कसैले पनि सजिलै पेसा बनाउन सक्छ । जसले पेसा बनाउँछ, उसले रोजगारीको लागि त कुनै न कुनै पदमा बस्नका लागि तिकडम, जालझेल र गलत तरिकाले कमाएको धन प्रयोग गर्नैपर्ने हुन्छ । बरु कुनै व्यक्ति निश्चित समय आफ्नो कामबाट छुट्टी लिएर म देशको निस्वार्थ सेवा गर्छु भनेर आउन चाहन्छ भने नयाँ राजनीतिक शक्तिको संरचनाले उसको क्षमताअनुसार स्थान दिनुपर्छ । यस्ता सिर्जनशील संरचनाले मात्र राज्यको स्रोत दोहन गरेर दलीय संरचनालाई पोस्ने वर्तमान सत्ता केन्दि्रत राजनीतिक विकृतिलाई प्रश्रय दिँदैन ।
निष्ठावान, क्षमतावान र लगनशील उम्मेदवारलाई मात्र सदस्यता : वर्तमानका राजनीतिक दलहरूको नेतृत्व वा दलहरूमार्फत राज्यको कुनै जिम्मेवारी तहमा पुग्न कुनै पनि सक्षम नागरिक दलीय कर्मचारीतन्त्रको जाँतोमा पिसिन अनिवार्य हुन्छ । नेता बन्न विद्यार्थी, कर्मचारी, शिक्षक, प्राध्यापक तथा अन्य पेसागत समूहका भ्रातृ संगठनमा बसेर अनेकन तिकडम, जालझेल घात-प्रतिघात र भ्रष्टाचारसमेतका अभ्यास गर्नुपर्ने नमिठो यथार्थ नेपाली समाजले भोगेको छ । यस्तै ठेक्कापट्टामा हुने गुन्डागर्दीको सूत्रधार, कमिसन लिएर बटुलेको कालो धनबाट प्रशस्त चन्दा दिनसक्ने र चुनावका बेला डन तथा मुन्द्रेहरू परिचालन गर्नसक्ने व्यक्तिमात्र समाज हाँक्ने ठाउँमा पुग्ने विसंगति छर्लङ्गै छ ।
नेपालका ६२ प्रतिशत जनसंख्याको उमेर ३० वर्ष मुनिरहेको छ । तर उनीहरूले ५० वर्ष उमेरका युवा र ७० वर्ष उमेरका पाका नेताहरूको कुशासन व्यहोर्नुपरेको कुरा जगजाहेर छ । नेताहरूले सूचना र प्रविधिको युगमा वर्तमान पुस्ता कस्तो छ र कति फरक छ भन्ने कुरा यात थाहा पाएका छैनन् या थाहा पाएर पनि बुझ पचाएका छन् । राजनीतिक नेतृत्वको निकम्मापनका कारणले यो आईटी पुस्तामा देशप्रति आकर्षण नै देखिँदैन । उनीहरू नेता र राजनीतिलाई सराप्दै विदेश पलायन हुने योजना बुन्न बाध्य छन् । नयाँ राजनीतिक शक्तिको कार्यसूचीको पहिलो महत्त्वपूर्ण काम युवा पुस्तामा सकारात्मक सोचको विकास गराई राष्ट्र निर्माणको अभियानमा अहम् भूमिकासहित सहभागी गराउने हुनेछ ।
साथै नयाँ राजनीतिक शक्तिको निर्णायक तहमा समाजका विभिन्न तप्काका योग्य व्यक्ति तथा सबै पुस्ताको अनिवार्य सहभागिता हुनुपर्छ । त्यसैले देशभक्त, इमानदार, आदर्शका पक्षपाती, निष्कलंक र देशका लागि केही दिन पाउँदा खुसी हुनचाहने व्यक्तिहरू सबैलाई नयाँ शक्तिको प्रवेशद्वार खुला हुनुपर्छ ।
ओपन सोर्स मोडलमा आधारित कार्यविधि मूलधारका राजनीतिक दलका केन्द्रीय नेतृत्वले युवा समूहहरू राजनीति र राज्यसञ्चालनमा उनीहरूभन्दा कैयौं गुणा दक्ष हुनसक्छन् भन्ने यथार्थलाई सजिलै आत्मसात गर्दैनन् । उनीहरूको एक सूत्रीय मान्यता हुन्छ, आफ्नो जीवनभरको त्यागका लागि पद र सम्मानको दाबी । यस्तो रवैयाले कसरी बन्छ देश ? हाम्रो शास्त्रमा एउटा मान्यता छ, 'शिष्यात् इच्छेत पराजयम' । अर्थात शिष्यबाट आफ्नो पराजय होस् भन्ने भावले शिक्षा देऊ । असल नेता असल गुरु पनि हो । नेताको एक दायित्व आफूभन्दा पनि सक्षम नेता उत्पादन गर्ने हो । तर समकालीन नेपाली राजनीतिमा यसको कुनै संकेत देखिँदैन ।
आहिलेको आईटी दुनियाँमा ओपन सोर्स अवधारणामार्फत विभिन्न सिर्जनात्मक अभ्यास चलिरहेका छन् । यसमा केन्द्रीकृतभन्दा विकेन्द्रीकृत कार्यविधि अपनाइन्छ । जस्तो विकिपिडिया एउटा ज्ञानको खानी हो । तर यो कुनै एक व्यक्ति वा कम्पनीले बनाएको होइन । यसले नाफा पनि कमाउँदैन र कुनै विज्ञापन पनि गर्दैन, तर यो निःशुल्क छ । कसरी ? तपाईं-हामी जोकसैले पनि यो ज्ञानको खानी बढाउन र अपडेट गर्न सक्छांै । यो विशाल भण्डार सबैका साना-साना योगदानको सामूहिक परिणाम हो । समग्रमा हेर्दा तपाईं-हाम्रो सानो प्रयास हुनसक्छ, तर सबैको सानो प्रयास जोडेपछि हेर्नुस् त विकिपिडियाजस्तो विराट ज्ञानको भण्डार पनि सम्भव हुँदोरहेछ । यस्तै कैयौं ओपन सोर्स निःशुल्क सफ्टवेयरहरू पनि बनिसकेका छन्, जुन व्यापारिक मुनाफाका लागि बनाएका सफ्टवेयरभन्दा कैयौं शक्तिशाली र उपयोगी छन् । यस्तै हुनसक्छ, नयाँ राजनीतिक शक्तिको निर्देशक सिद्धान्त र कार्यविधिको शैली ।
यसैले नयाँ राजनीतिक शक्तिको प्रमुख चुनौती भनेको कार्यक्रम, सिद्धान्त, कार्यविधि निर्धारण गर्दा अधिकतम सिर्जनशील बन्न सक्नु हो । यो अभियानमा जोकसैले पनि सानोभन्दा सानोदेखि ठूलो योगदान गर्न सक्छ । उसको आबद्धताको समय, विचारमा योगदान र कार्यान्वयन प्रक्रियामा संलग्नता यो अभियानको एउटा विशिष्ट कडी हुनसक्छ । यसरी सबैको सकारात्मक योगदानका कारण नयाँ राजनीतिक शक्ति जीवन्त र सधैं नौलो हुनेछ । आवश्यक रणनीति र कार्यनीति हरू पनि सबैको योगदानका आधारमा निरन्तर परिमार्जन गर्न सकिन्छ । यसैले ओपन सोर्स अवधारणा र आधुनिक व्यवस्थापनका नवीनतम सिद्धान्तहरूको उपयोग तथा प्रभावकारी कार्यान्वयनमार्फत नयाँ राजनीतिक शक्तिले नेपालको काँचुली फेर्न सक्ने बलियो सम्भावना छ । यसैले अब यो पङ्क्ति पढ्ने आम पाठकका लागि दुईवटा विकल्प हुनसक्छन् । पहिलो, यो आलेखको सुरुमै उद्धृत चाणक्यले भनेजस्तो प्रतिकूल परिस्थिति भएको मुलुकमा नबस्ने । अर्को हो, नयाँ राजनीतिक शक्तिको विकास र गठनलाई सहयोग गरी आफ्नै जीवनकालमा यो अभियानलाई मूर्तरूप दिई यो मुलुकको मुहार फेर्ने । रोजाइ तपाईंकै हो ।
- See more at: http://ekantipur.com/np/2071/2/14/full-story/389943.html#sthash.2F8Qxaks.rETOquqE.dpuf
No comments:
Post a Comment