फागुन १७, २०६९।
सुन्धाराको महिला कारागारमा थुप्रै महिलाहरु हातमा फुलका गुच्छा र अबिर लिएर लहरै बसेका थिए। 'सम्झना मिस हामीलाई नबिर्सनु है, बेलाबेला भेट्न आउँदै गर्नु,' कर्मचारी र जेलभित्र पुगेका महिलाहरुले त्यहाँ चार वर्ष बिताएकी सम्झना श्रेष्ठलाई यस्तै भनेर विदा गरे।
आफ्नो जीवनमा गाँसिएर एउटा मिठो सम्झना दिन पुगेकालाई विदाईको हात हल्लाउन सबैलाई गाह्रै हुन्छ। तर जेलबाट सजाय सकेर बाहिरिँदाको विदाई सधैँ अपेक्षित हुन्छ। सम्झनालाई पनि जेलबाट निस्कँदा सबैले खुसीखुसी अंगालो मारेर विदाई गरे। सम्झना बाहिरिँदा सबैका आँखा रसिला देखिए, उनी रोइनन्। बेलाबेला भेट्न आउने बाचा गर्दै उनी चार वर्षको जेलसजाय सकेर निस्किइन्।
जेलमा बस्दाको विगत तितो भए पनि यहाँभित्र उनलाई आफ्नै अस्तीत्व खोज्ने अवसर मिल्यो। सायद त्यही सम्झिइन् उनका आँखा रसाएनन्। जेलको मुल ढोकामै गाउँदेखि बुवा आमा, भाईबहिनी, मामामाईजु फुपू सबै उनलाई लिन पुगेका थिए।
आमाले थाम्नै नसकेर सम्झनालाई अंगालो हालेर त्यहीँ रुन थाल्नुभयो। घरबाट आएका सबै रोए। तर सम्झनाको आँखा यति बेला पनि ओबानै रह्यो। 'म जेलभित्रै हुँदा धेरै रोएको छु,' उनले आमाले अँगालो हालेकै ठाउँमा उभिएर भनिन्, 'आजकाल जे परि आए पनि आँशू झर्दैन जस्तो लाग्छ। मेरो मन कठोर भइसक्यो आजकाल।'
...
माघ ४, २०६५
साँढे चार वर्षअघि काभ्रे दोलालघाटमाथि भुम्लुटारमा भएको एउटा घटनाले २१ वर्षीया सम्झना श्रेष्ठलाई परिवन्दमा जेल पुर्यायो। गाउँमै पहिलोपटक एसएलसी पास गर्ने सम्झना स्कुलकी एकमात्रै शिक्षिका थिइन्। शनिबारको दिनबोहक अरुदिन उनी घरमा काम गर्न भ्याउन्न थिइन्। १२ कक्षा पढ्दै गरेकी उनलाई अरु दिन आफ्नो र विद्यार्थीको पढाइले फुर्सद हुँदैन थियो।
त्यही एउटा शनिवारको बिहान उनी खर काट्न बारीमा जाँदै थिइन्। मूलबाटोमै पर्ने खड्गबहादुर श्रेष्ठको आँगन नभई सम्झनाको परिवारको ओहोरदोहोर गर्ने अर्को बाटो थिएन। तर रातबिहान हिँड्नुपर्ने त्यो आँगनधनी खड्गबहादुर अलिकति पनि सोमत नभएका थिए। टन्न पिएको सुरमा गाउँका भर्खरका केटीहरुलाई अश्लिल शब्द बोलेर सहिनसक्नु बनाउँथे।
पिएको बेला सम्झना केही नभनी मुरमुरिँदै बाटो लाग्थिन्। कहिलेकाहीँ 'हजुरबुवाले पनि नातिनीलाई त्यस्तो भन्ने हो' भन्थिन्। तर साँझ बिहान नभनि एकनास पिउने खड्गबहादुरलाई यसको असर कहिल्यै परेन। उनी सम्झनाका १३ दिने जुठो लाग्ने हजुरबुवा थिए। उमेरले ३१ वर्ष जेठा।
खर काट्न निस्किएको त्यो विहान सम्झनाले सहनै सकिनन्, जब खड्गबहादुरले पिएको सुरमा आँगनमा हिँडिरहेकी उनलाई हातमा समातेर कोही नभएको घरको मझेरीमा ताने । अश्लिल शब्दमात्रैले छेड हान्ने खड्गबहादुरले त्यो दिन सम्झना नातिनी भएको पनि बिर्सिए सायद।
अश्लिल शब्द बोलेर मानसिक पीडा मात्रै दिने गरेका हजुरबुवाले त्यस दिन उनलाई जबरजस्ती गर्न खोजेका थिए। यो कुरा सम्झनाले सहनै सकिनन्। उनले मझेरीमै भएको कोदालीको बीँडले रिसको आवेगमा भकाभक कुटिन्।
खड्गबहादुरको बललाई जब सम्झनाको बलले जित्यो, उनी त्यहाँबाट फुत्किएर सिधै घर गइन्। खाटमा घोप्टो परेर रुन थालिन्।
'बुवा त्यति बेला पैसा कमाउन अरब जानु भएको थियो, घरको जेठी छोरी मै थिएँ,' सम्झनाले त्यो तितो विगतमा फर्किएर भनिन्, 'बुवा घरमा नभएकाले मलाई त्यसले हेप्यो भन्ठानेँ, खुब रोएँ।'
उनी घरमै थिइन्। घटनाको दुई घन्टापछि खड्गबहादुरको आँगनभरी पुलिससहित गाउँले उपस्थित थिए। सम्झनालाई बोलाए। पुलिसले बोलाएपछि उनी मन नलागि-नलागि गइन्। उनले अरु कसैको अनुहार हेरिनन्। अघिदेखि कामेको शरीर बग्रिएकै थिएन। निहुरेर पुलिसलाई सबैकुरा भनिन्। 'गल्ती नगरे पनि असजिलो मान्नुपर्ने कस्तो समाज छ हाम्रो, मैले शिर झुकाएँ,' सम्झनाले भनिन्।
पुलिसले– 'तपाईँलाई अन्याय भएछ, नआत्तिनुस् केही हुँदैन' भने। उनी घर फर्किन्।
त्यही राति खबर आयो –खड्गबहादुर बितेछन्।
अघिल्लो दिनको घटनाले मन आत्तिएकै थियो। सम्झना धुलिखेलको कार्यक्रममा जान घरबाट निस्किइन्। बुवासरहका मामाले घटना घटेको थाहा पाउने बित्तिकै काठमाडौं बोलाए । काठमाडौंबाट फेरी मामा भान्जी घरफर्कने तरखर गर्दै थिए, प्रहरीले सम्झनालाई हत्या गरेको अभियोगमा टेकुबाटै पक्राउ गर्यो।
खड्गबहादुरको मृत्यूपछि दाजु खेतबहादुरले सम्झनाले नै मारेको भन्दै प्रहरीमा उजुरी दिए।
सम्झनाको भन्दा हुनेखाने परिवार थियो खड्गबहादुरको। साना भाईबहिनी र आमामात्रै भएको घरमा त्यसको प्रतिवाद गरेर सत्य बोल्दा गाउँ सुन्नेवाला थिएन। सम्झनालाई त्यसरी अश्लील बोलेर मझेरीमा तान्दा घरमा कोही थिएन। तर, उनकी श्रीमती, भतिजी, दाजुभाईहरु र प्रत्यक्षदर्शी भन्दै गाउँलेले सम्झनाको हिर्काइले खड्गबहादुरको मृत्यू भएको बयान दिए।
अन्ततः सम्झनाविरुद्ध ज्यान मुद्दा चल्यो।
खड्गबहादुरको पोस्टमार्टम गर्ने डाक्टर दिवससिंह झाले हातको कान्छी र चोर औंला भाँचिएको, गालामा प्वाल पर्ने गरी चोट लागेको, दाहिने खुट्टाको घुँडामुनि दुई ठाउँमा भाँचिएर हड्डीको टुक्रा बाहिर निस्किएकोले त्यहीँबाट रक्तश्राप हुँदा मृत्यू भएको रिपोर्ट अदालतमा बुझाए।
त्यही रिपोर्ट र बयानको आधारमा घटनाको १० महिनापछि काभ्रे जिल्ला अदालतका न्यायाधीश राजेश काफ्लेले २०६६ मंसिर २८ गते 'सम्झनाले खड्गबहादुरलाई मार्नै पर्ने कारण र योजना नभएको तथा सांघातिक हतियारसमेत प्रयोग नगरेको भन्दै पाँचवर्ष जेल सजाय सुनाए।
ज्यान मुद्दा ठहरिएपछि दोषिलाई जन्मकैद अनुसार २० वर्ष जेल सजाय हुने प्रावधान छ। तर, सम्झनाविरुद्ध चलेको मुद्दामा न्यायाधीशले त्यसमा आफ्नो स्वविवेक प्रयोग गरेर २० वर्षको जेल सजायलाई ५ वर्षमा झारे। पछि पुनरावेदन अदालत गएपछि खड्गबहादुरको बयान दिनेहरुले भने, 'उहाँको मृत्यू भर्याङ्गबाट लडेर भएको हो।
पहिला त प्रहरीले तयार गरेको कागजमा हामीले सही मात्रै गरेका थियौं।' बयानमा खड्गबहादुरकै श्रीमतिले सम्झनाको कुनै दोष नभएको बताइन्।
पुनरावेदनले यो बयानलाई आधार मानेर सम्झनाको सजाय ४ वर्षमा घटाए। पुनरावेदनले फैसला गर्दासम्म सम्झनाले दुई वर्ष जेलसजाय काटिसकेकी थिइन्।
पुनरावेदनको त्यही फैसलालाई सर्वोच्चले २०६९ माघ ८ गते सदर गर्यो।
यसअघि सर्वोच्चले बाल मन्जरीको मुद्दामा एउटा नजिर कायम गरेको थियो।
सम्झना जस्तै आफ्नो शतीत्व रक्षा गर्दा घटना घटेको एक घन्टाभित्र पीडकको मृत्यू भए सजाय पुरै माफि हुने। सम्झनाको मुद्दामा पीडकको मृत्यू १० घन्टापछि भएको थियो।
धेरै वकिलहरुले उनको मुद्दामा फेरी सर्वोच्चले कुनै नयाँ नजीर स्थापित गर्ने आशा गरेका थिए।
सुरुमा सम्झनाको मुद्दा हेर्ने अधिवक्ता मिरा ढुंगानाले भनिन्, 'यो मुद्दामा सम्झना निर्दोष हुन् भन्ने कुरा प्रतिवादीको बयानबाटै देखिन्छ। तर अनुसन्धान फितलो हुँदा उनी जेलमा बसिरहनुपरेको छ।'
तर मन्त्रिपरिषद् अध्यक्ष (तत्कालीन प्रधानन्यायाधीश) खिलराज रेग्मी र न्यायाधीश प्रकाश वस्तीको इजलासमा परेको मुद्दाले पुनरावेदन अदालतको फैसला सदर गर्ने काम मात्रै गर्यो।
फैसला सुनाउँदा यस्तो मुद्दामा सदर/बदरको निर्णय पछि पूर्ण पाठ तयार गर्दा न्यायाधीशहरुले नयाँ विषयलाई नजीरमा उल्लेख गर्छन्। तर सम्झनाको मुद्दा सुनुवाई गर्ने न्यायाधीश वस्ती फैसलाको केही दिनमै अस्थायी जागिर सकिएर सर्वोच्चबाट बाहिरिए। प्रधानन्यायाधीश खिलराज रेग्मीले पुनरावेदन अदालतको फैसलामात्रै सदर गरे कुनै नयाँ नजिर बन्ने गरी व्याख्या गरेनन्।
मुद्दा लाग्दा कानुनको 'क' पनि थाहा नभएकी सम्झनालाई अहिले धेरै ज्ञान छ। उनलाई पनि लागेको थियो – 'मैले त भोगिसकेँ बरु मेरो मुद्दामा सर्वोच्चले केही बोलिदिए अरु महिलालाई मेरोजस्तो दिन भोग्नुपर्दैन थियो।'
अदालतका कर्मचारीका अनुसार पुनरावेदन अदलातको फैसला अनुसार जेलसजाय सकिन आँटेको सम्झनाको जस्तो मुद्दामा अभियुक्त निर्दोष नै देखिए पनि सर्वोच्चका न्यायाधीशहरु सजाय कम गर्ने गर्दैनन्। 'अभियुक्तले सजाय त भोगिसक्यो अब किन घटाएर फैसला गर्नु भन्ने हुन्छ न्यायाधीशलाई,' अदालतका एक न्यायाधीशले भने, 'त्यसैले मुद्दाको सुनुवाई समयमै हुनुपर्छ तर अभियुक्त जेलबाट निस्कने बेला हतारहतारमा फैसला गर्नुपर्छ अनि यस्तै हुन्छ।'
...
फैसला सुनाएपछि जेल परेकाहरु सर्वोच्चको पत्र अनुसार त्यही दिन छुट्छन्। सम्झना पनि माघ ८ गते नै छुट्नुपर्थ्यो । तर उनले आफैँ जेलमा निवेदन दिएर फागुन १७ गतेसम्म बस्ने व्यवस्था मिलाइदिन अनुरोध गरिन्।
'मेरो बिए थर्ड एयरको जाँच चलिरहेको थियो, घर गएपछि फेरी जेलकै कुरा गरेर पढिदैँन भनेर मैले जाँच सकिएपछि मात्रै निस्कन निवेदन दिएँ,' सम्झनाले भनिन्।
यसरी उनले चारवर्षको जेलसजायमा आफ्नो परिक्षाको अवधि समेत थपेर ४ वर्ष १ महिना १२ दिन जेलमा बसेर बिताइन्।
यो अवधिमा जेलमा जुरेको सम्बन्ध उनकै शब्दमा 'जीवनभर गाढा' रहन्छ।
...
जेलबाट बाहिरिएपछि उनी भुम्लुटारको घर गइन्। बाटो त्यही खड्गबहादुरकै आँगन थियो। उनले घटना सम्झिन खोजिनन्। तर, त्यो आँगनमा टेकेपछि मन विगततर्फ फर्कियो। आँखा धमिलो भयो। आमा वरैसम्म छोरी लिन आएकी थिइन्। यसपटक पनि आमा भक्कानिइन् तर सम्झना उस्तै भइन्, आँखा रसाएनन्।
छोरी जेल जाँदा अरबमा रहेका बुवा घटनापछि घर फर्किएका थिए। आफ्नो घरको पिढीँमा भाईबहिनी मात्रै थिएनन्। थुप्रै गाउँले थिए। त्यसमध्य केही उनीविरुद्ध प्रहरीलाई बयान दिनेहरु पनि थिए। सबैले च्च्च्... गरे। उनले कसैलाई केही भनिनन्।
केही केटाकेटीहरु 'सम्झना मिस' भन्दै आए। ५/६ कक्षामा उनले पढाएका विद्यार्थीले भर्खरै एसएलसी दिइसकेका थिए। यसपटक उनले मुसुक्क हाँसेर सोधिन्, 'कस्तो भयो एसएलसीको जाँच?'
विद्यार्थीहरुले 'राम्रै भयो सम्झना मिस' भन्ने सुन्दा उनलाई जेलका आफ्ना प्रौण विद्यार्थी याद आयो।
घरमा एकफेरको धीत मरुन्जेल बसेपछि उनी फेरी काठमाडौं फर्किइन्। डेरामा झोला बिसाइन्। कालीमाटी तरकारी बजारबाट केही तरकारी झोलामा हालेर सिधै जेल गइन्।
'हामीलाई त्यहाँ भित्र बस्दा मिठोमिठो तरकारी खान मनलाग्थ्यो अनि लिएर गएको,' सम्झनाले गएको सोमबार जेलकै बाहिर उभिएर भनिन्, 'मैले भने कहिल्यै पकाउन परेन, अनिता दिदीले पकाएर खुवाउनुहुन्थ्यो।'
...
साउन १४ गते। यो महिनाको दोस्रो सोमबार सुन्धारास्थित महिला कारागारमा थुप्रै महिलाहरुले भगवान शिवलाई सम्झँदै व्रत बस्छन्। त्यही जेलमा ४ वर्षको विगत गुजारेकी सम्झना अविवाहित हुन्, तर यिनै साथीहरुको संगतले सोमबार उनी पनि व्रत राख्न थालिन्।
'यहीँका दिदी, आन्टीहरुको संगतले व्रत बस्न थालेँ, सोमबार सबै भोकै बस्दा आफूमात्रै खान मन लाग्दैन थियो,' असोजबाट २५ वर्ष पुग्ने सम्झनाले जेलकै हाताभित्र भनिन्।
पोहोरको साउने सोमबारसम्म सम्झना यही जेलमा थिइन्। यिनै महिलाहरुसँग। परिवन्दले २१ वर्षकै उमेरमा ज्यान मारेको अभियोग लागेकी उनले यसपाला पनि सोमबार यहाँ आउन छोडेकी छैनन्।
'कतिले गल्ती नै गरेर जेल परेका हुन्छन्, कति म जस्तै निर्दोषहरु,' उनले सोमबार जेलका सबै साथीहरु र कर्मचारीलाई भेटीसकेपछि भनिन्, 'तर यहाँ आईसकेपछि हामी सबै उस्तै हुन्छौं कसको के कारणले घटना भयो, कसको के कारणले तर पीडा फरक हुन्न।'
जस्तो विगत गुजारेर जेल पुगेको भए पनि सबै एउटै वर्तमानमा पुगेर ठोकिएका हुन्छन् जेलमा। दोषि भए पनि निर्दोष भए पनि आखिर विहानदेखि बेलुकासम्म सबैको जीवनशैली एउटै हुन्छ। जेलमा बसुन्जेल खपिनसक्नु विगत कसै न कसैलाई नबाँडि सन्तोक पनि हुँदैन।
सम्झना तिनै साटफेर गरेका दु:खका दिन सम्झिन्छिन् अनि बेला बेला त्यहाँ भेटघाट गर्न पुगिरहन्छिन्। फेरी दुखका दिनमा बनाएका सम्बन्ध विशेष प्रकारका हुने उनको अनुभव छ।
'आमाबुवा, भाईबहिनी घरबाट भेट्न आउँदा रोएर उहाँहरुलाई पीरमा पार्न हुँदैन भन्ठान्थेँ, अनि यहीँका दिदीहरुसँग रुन्थेँ,' सम्झनाले भनिन्, 'त्यो सम्झेर पनि अहिले भेटघाट गर्न आईरहन मनलाग्छ।'
अघिल्लो सोमबार उनी आफैँले भेट्न नभ्याए पनि बिहानै जेल पुगेर त्यहाँका दिदीहरुलाई मेहेन्दी र हरिया चुरा छोडेर गइन्। 'अघिल्लो वर्ष बजारमा किन्न पठाएर सबै मिलिमिलि दिनभरी मेहेन्दीको नयाँ नयाँ बुट्टा बनाएर बस्थ्यौं,' सम्झनाले भनिन्, 'त्यही सम्झेर यसपटक हरियो चुरा र मेहेन्दी पुर्याउन आएकी थिएँ।'
सम्झनालाई माया गर्ने जेलभित्र थुप्रै थिए। उनले कुनै दिन भात पकाउनुपरेन। मिठो केही कसैले पकाए वा आफन्तले पठाएको भए सम्झनालाई दिइहाल्थे। बिहान बेलुकी महिलाहरुलाई ७ कक्षासम्म पढाउँथिन्। सोमबार पनि उनी पुग्ने बित्तिकै भेट्न आउने धेरैले भने– सम्झना मिस न्यास्रो लाग्छ तपाइँ आइरहनुस्।
ती सबै मध्ये पनि उनको मन जित्ने दुईजना थिए। एकजना ५५ वर्ष उमेर हाराहारी पुगेकी जेलकै कर्मचारी, रुकमिणी। 'उहाँले मलाई आमाको न्यास्रो नै मेटाउनु भएको थियो,' आफू वैशाखमा छुटेको ६ महिनाअघि अन्तै सरुवा भएको सम्झेर चुकचुकाउँदै उनले भनिन्, 'मेरो बाबा तिमी यो उमेरमा कसरी जेल पर्यौ नि भन्नुहुन्थ्यो, उहाँको काखमा घोप्टिएर कति रोएँ रोएँ।'
सम्झनाको अहिले पनि बेलाबेला रुकमिणी आमासँग फोनमा कुराकानी भइरहन्छ। उनले कालीमाटी डेराको भित्तामा एउटा मात्रै तस्बिर झुण्ड्याएकी छिन्। जहाँ भारतको ताजमहल पृष्ठभूमि भएको तस्बिरमा सम्झना र रुकमिणी आमा छन्।
'मैले रुकमिणी आमाको सम्झनाको लागि आफू र उहाँलाई एउटै खालको दुईटा फोटो बनाएको थिएँ, यो एउटा मसँग छ, अर्को उहाँसँग,' उनले सोमबार आफ्नै कोठामा तस्विर तिर मुन्टो फर्काएर भनिन्।
त्यही बेला मैले सम्झनाको आधा दर्जन फोटो खिँचे।
उनले ओठलाई हल्का फिजाईन्।
जेलले सम्झनाको करियर बनाउने उमेरमा यस्तो गाढा सम्बन्ध जुरायो। अब घरमा उनलाई विवाह गर्नुपर्यो भन्दै बुवाआमा बरोबर कराइरहनुहुन्छ।
तर, एउटा स्थायी जागिर नखाई उनलाई विवाह गर्न मन छैन। 'समाजले त पहिलै ममा एउटा दाग देखिसक्यो, एउटा प्रतिवाद गर्दा मैले यस्तो भोगिसकेँ,' उनले भनिन्, 'अब म आफैँ बलियो हुनुपर्छ त्यसैले विवाह गर्नु अघि एउटा सरकारी जागिर जसरी पनि खान मन छ।'
कुराकानी सक्दा उनले भनिन्, 'मेरो फोटो चाहिँ नछापि दिनुस् है।'
'किन? तपाईँलाई असजिलो हुन्छ?,' मैले सोधेँ।
'हाम्रो समाज यही त हो, भोलि फेसबुक तिर देखेपछि मान्छेहरुले त्यो केटी त यही हो भन्छन्,' उनले भनिन्, 'मेरो यथार्थ मैसँग बसेको ठीक। बरु मजस्ता अरु केटीले यस्तो भोग्न नपरोस्।'
(उनकै आग्रहमा प्रस्तुत आलेखमा हामीले पनि सम्झनाको फोटो राखेका छैनौ)
No comments:
Post a Comment